३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

सिंहदरबारले ‘ढोका बन्द’ गरेपछि माइतीघर ओर्लिए सुस्ताबासी

नेपाल–भारत सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दा नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन्।

सुस्ताको माटो बोकेर सरकारलाई झक्झक्याउन राजधानी आइपुगेका उनीहरूले राज्यको उदासीनताका कारण आफूहरू थप पेलिन थालेको गुनासो गरेका छन्।

‘सुस्ता बचाउ अभियान’ को आह्वानमा काठमाडौं ओर्लिएका सुस्ताबासीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमाबारे दिएको विवादास्पद अभिव्यक्तिपछि आफूहरू भारतीय सुरक्षाकर्मीबाट थप प्रताडित हुनुपरेको दुखेसो पोखेका छन्।

सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने ज्यादती र अतिक्रमण बढे पनि राज्य मूकदर्शक बनेको आरोप उनीहरूको छ। आफ्ना समस्या र पीडा प्रत्यक्ष सुनाउन पटक-पटक प्रधानमन्त्री शाहको सचिवालयमा समय माग गर्दा समेत भेट्न नदिएपछि माइतीघर मण्डलामा धर्नासहितको आन्दोलन थाल्नुपरेको प्रदर्शनकारीहरूले बताएका छन्।

धर्नामा सहभागीहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र सीमा सुरक्षा मजबुत गरिनुपर्ने, सुस्ताबासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र वर्षौंदेखि भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गरिनुपर्ने तीन सूत्रीय माग अघि सारेका छन्।

हातमा राष्ट्रिय झण्डा र ‘सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ’, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’ तथा ‘अतिक्रमण होइन, सार्वभौम सम्मान दे’ लेखिएका प्लेकार्ड बोकेका सुस्ताबासीले आफ्नो सार्वभौम अधिकार र न्यायका लागि सरकार तत्काल गम्भीर बन्नुपर्ने चेतावनी दिएका छन्।

हेराैं तस्बिरहरु, सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: १६ असार २०८३ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App