नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध र आतंक सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार आइतबार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद गाडी पार्किङ गरिएको थियो। यसका कारण त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान/आउन समस्या भएको महासंघले जनाएको छ।
महासंघले तत्काल ती गाडी हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, सञ्चारमाध्यम र पत्रकारको पेशागत अधिकारमा अवरोध पुर्याउने यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि आग्रह गरेको छ।
महासंघले अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारीसमेत दिएको छ। प्रेस विज्ञप्तिमा महासचिव रामप्रसाद दाहालले पत्रकारको निर्बाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने अधिकारको संरक्षण गर्न राज्य गम्भीर हुनुपर्ने बताएका छन्।

प्रकाशित: २९ असार २०८३ १३:२१ सोमबार





