जुम्लाको सिञ्जा गाउँपालिका-२ स्थित रनुखानामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन्। यसअघि पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो।
अहिले पुल निर्माण भएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा-२ का वडाध्यक्ष तीर्थ वडले बताए। उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको ५५ लाख रूपैयाँ बजेटमा गत वर्ष उपभाेक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो। चालु आवको कात्तिकको पहिलो सातामा निर्माण भएको पुल अहिले सञ्चालनमा आएको उनले बताए।
यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवतजावत गर्ने सहज भएको स्थानीय बताउँछन्। एक गाउँबाट अर्को गाउँसम्म जोड्न करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष वडले उल्लेख गरे। पुल बनेपछि घुमाउरो र लामो बाटो हिंड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले ५५ लाख रूपैयाँ लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका बताए।
प्रकाशित: ४ मंसिर २०८२ १२:२४ बिहीबार





