२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सुशीला कार्की पछि हटिन्, अन्तरिम सरकारको नेतृत्व कुलमानले गर्ने : भारतीय मिडियाको दाबी

भारतका केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि बन्ने अन्तरिम सरकारको नेतृत्व कुलमान घिसिङले गर्ने दाबी गरेका छन्। प्रारम्भमा ‘जेन-जी’ आन्दोलनका नेताहरूले अन्य उम्मेदवारहरू, जस्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र काठमाडौंका मेयर बालेन शाहको नाममा चर्चा गरिरहेका थिए। तर कार्की र बालेन पछि हटेपछि घिसिङ नै अग्रणी विकल्प बनेका छन्।

नवभारत टाइम्सले ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री कुलमान घिसिङ, सुशीला कार्कीको नाम दौडबाट हटाइयो, भारतसँग सम्बन्ध पनि’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचार अनुसार युवाहरूको समर्थनपछि कुलमान घिसिङ अन्तरिम प्रधानमन्त्री बन्ने लगभग निश्चित भएका छन्। युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि उनको नाम प्रस्ताव गरेका छन्।

घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख हुन्। लामो समयको विद्युत कटौती अन्त्य गरी आफ्नो “सफा छवि” र दक्षताका कारण उनी लोकप्रिय छन्। भारतीय मिडियाले उनको भारतसँगको सम्बन्ध पनि उल्लेख गरेका छन्। उनले जमशेदपुरको क्षेत्रीय प्रविधि संस्थाबाट इन्जिनियरिङ्ग डिग्री हासिल गरेका थिए। नेपाल–भारत विद्युत व्यापारमा उनको योगदान विशेष रहेको छ।

घिसिङको नाम सार्वजनिक भएपछि भारतीय मिडियामा उनको लोकप्रियता र विश्वासनीयताको चर्चा बढेको छ। आन्दोलनपछि नेपाली सेना शान्ति स्थापना गर्न लागिपरेको छ। घिसिङलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्ने मध्यस्थ उम्मेदवारका रूपमा हेरिएको छ, जसले नयाँ निर्वाचनको बाटो तयार पार्न सक्ने विश्वास गरिएको छ।

भारतीय अन्य प्रमुख सञ्चारमाध्यमले पनि यही दाबीलाई बल दिँदै समाचार सम्प्रेषण गरेका छन्। काठमाडौंका मेयर बालेन शाहले सुशीला कार्कीलाई समर्थन गरेका भए पनि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसहितले विरोध जनाएका छन्। जेन-जीले बालेनको नाम अघि सारेको भए पनि उनी अन्तरिम सरकारका लागि तयार नभएका कारण अन्य विकल्पहरूमा चर्चा भइरहेको छ।

प्रकाशित: २६ भाद्र २०८२ १९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App