छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाइदिन भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काठमाडौंको डिल्लीबजारस्थित ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली घुस रकमसहित पक्राउ परेका हुन् ।
आयोगमा परेको सूचना तथा उजुरीका आधारमा टंगालबाट खटिएको टोलीले वलीलाई २०८३ भदौ ३१ गते टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन अनावश्यक सास्ती, दुःख र हैरानी दिई घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ । असोज १ गते विशेष अदालतको आदेशबाट म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको आयोगले जनाएको छ ।
घुस रकमसहित पक्राउ परेका नापी अधिकृतमाथि आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान अघि बढाउने जनाएको छ ।
प्रकाशित: १ आश्विन २०८३ १६:५३ बिहीबार





