सर्वोच्च अदालतले विदेशी नागरिक पिटर क्वाङ सिओङ किमलाई थुनामुक्त गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई थुनामै राखेर निष्कासन गर्ने अध्यागमन विभागको निर्णय बदर गरिदिएको हो। अदालतले किमलाई गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ।
अदालतको आदेशमा भनिएको छ, ‘किमसँग नेपाली नागरिक निलम बर्दवासँग विवाह गरेर छोरा र छोरीसमेत रहेकाले उनलाई परिवारबाट अलग्याएर थुनामा राख्नु मौलिक हकको उल्लंघन हो।’
जानकारी अनुसार किमले २०७९ सालमा नेपाली नागरिकसँग विवाह गरेका थिए। अध्यागमन विभागले भिसाको उद्देश्य विपरीत काम गरेको आरोपमा उनलाई ५० हजार रुपैयाँ जरिवाना तिराएर एक वर्ष नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। तर, अदालतले उनले प्रचलित कानुनअनुसार कुनै फौजदारी कसुर गरेको नदेखिएकाले थुनामा राख्नुको औचित्य नभएको जनाएको छ।
अदालतले अन्य कुनै मुद्दामा आवश्यक नपरेमा उनलाई तत्काल थुनाबाट मुक्त गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।


प्रकाशित: १ भाद्र २०८३ २०:१४ सोमबार




-600x400.jpg)
