१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

आयस्रोत नभएका सामुदायिक वन सक्रिय बनाउन स्रोतयुक्त वन समूहको सहयोग

डिभिजन वन कार्यालय मरिण मातहतका न्यून आय भएका तथा आम्दानी नभएका सामुदायिक वन समूहलाई आम्दानी हुने सामुदायिक वन समूहले सहयोग गर्ने व्यवस्था गरिने भएको छ। आयस्रोतको अभावका कारण निस्क्रिय बनेका सामुदायिक वनलाई सक्रिय बनाउने उद्देश्यले कार्यालयले कार्ययोजना र नीति–नियम तयार गरेको जनाएको छ।

डिभिजन वन कार्यालय मरिण अन्तर्गत आठवटा सब–डिभिजन वन कार्यालय रहेका छन्। विशेषगरी महाभारत क्षेत्र अन्तर्गत पर्ने सुनकोसी र घ्यालेख गाउँपालिकामा आयस्रोत अत्यन्त न्यून भएका सामुदायिक वन समूहको संख्या बढी छ। काठमा प्रयोग कम हुने कुकाठ प्रजातिका रुख बढी भएका कारण ती वन समूह निस्क्रिय बनेपछि साल जातका रुख रहेका, आम्दानी पर्याप्त भएका सामुदायिक वन समूहबाट सहयोग लिन सकिने गरी कार्ययोजना तयार गरिएको कार्यालयले जनाएको छ।

साल जातका रुख भएका सामुदायिक वन समूह वन व्यवस्थापनका कार्यमा सक्रिय रहेकाले ती समूहमा आर्थिक स्रोत प्रशस्त हुने र त्यही स्रोत न्यून आय भएका वा आम्दानी नभएका समूहलाई सहयोग गर्न प्रयोग गर्न सकिने व्यवस्था कार्ययोजनामार्फत गरिएको डिभिजन वन कार्यालय मरिणले स्पष्ट पारेको छ।

सानो वन क्षेत्र, अप्ठ्यारो भूगोल र सहज पहुँच नहुँदा वन पैदावारको उचित व्यवस्थापन हुन नसक्दा सुनकोसी र घ्यालेख गाउँपालिकाका धेरै सामुदायिक वन समूहको वार्षिक आय अत्यन्त न्यून रहेको छ। आय अभावका कारण संस्थागत गतिविधि सञ्चालन हुन नसकेपछि बागमती प्रदेशमै पहिलो पटक स्रोतयुक्त सामुदायिक वन समूहले स्रोत अभाव भएका समूहलाई सहयोग गर्ने नीति बनाइएको कार्यालयले जनाएको छ।

जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमार्फत यस्तो कार्यविधि तयार गरिएको हो। जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले यसलाई बागमती प्रदेशकै नमुना पहलको रूपमा व्याख्या गर्दै कार्यविधि पूर्ण रूपमा कार्यान्वयन गर्न सके सबै सामुदायिक वन समूह सक्रिय हुने बताएका छन्।

सिन्धुली जिल्लामा डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिण गरी दुईवटा वन डिभिजन कार्यालय छन्। डिभिजन वन कार्यालय मरिण अन्तर्गत २०५ वटा सामुदायिक वन समूह रहेको कार्यालयले जनाएको छ।

प्रकाशित: २१ माघ २०८२ २१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App