चार दिनअघि सुनसरीको देवानगञ्जमा दुई पक्षीय विवाद हिंसामा परिणत भएपछिको असहज परिस्थिति शान्त हुँदै गएको छ।
गृह मन्त्रायलद्वारा गठित समितिले काम थाल्नुका साथै जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय भेला डाकेर सम्पूर्णलाई सद्भाव कायम गर्न आह्वान गरेसँगै हिजोबाट शान्त हुन थालेको देवानगञ्जसहित इनरुवा, भोक्राहा नरसिंह, कोशी र हरिनगर क्षेत्रमा आज बिहानदेखि धेरै सुधार भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताए। उनका अनुसार हिजो पूर्वपश्चिम राजमार्ग क्षेत्रको केही अवरोधलाई पनि हटाइएको थियो।
सुनसरी शान्त हुने क्रममा सुधार हुँदै गएपछि कर्फ्यु भने हटेको छैन।
आइतबार राति दुई पक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएका थिए, जसमा दुई जनाको अवस्था गम्भीर छ।
देवानगञ्ज घटना : साउन १० देखि १४ गतेसम्म जिल्लाभर भएका घटनाक्रम
साउन १० गतेः विवाददेखि गोलीकाण्डसम्म
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति करिब ८ बजेदेखि दुई समूहबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि झडपमा परिणत भयो। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। सीमित संख्यामा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो।
झडप नियन्त्रण गर्ने क्रममा राति करिब १०ः३० बजे गोली चलेको थियो। गोली लागेर आठ जना सर्वसाधारण घाइते भएका थिए। घाइतेमध्ये देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा सोही राति करिब ११ बजे मृत्यु भएको थियो।
साउन ११ गतेः कर्फ्यु, प्रदर्शन र सेना परिचालन
घटनापछि बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म देवानगञ्ज र हरिनगर क्षेत्रमा तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कर्फ्यु आदेश जारी गरेका थिए।
तर कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी रहेपछि जनपथ प्रहरी र सशस्त्र प्रहरीले मात्र नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि जिल्ला सुरक्षा समितिले साउन ११ गते साँझ ५ बजेदेखि सेना परिचालन गर्ने निर्णय गरेको थियो।
देवानगञ्ज घटनाको विरोधमा हरिनगर, कोशी, भोक्राहा नरसिंह र इनरुवा क्षेत्रमा समेत प्रदर्शन सुरु भयो। प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना पनि भएका थिए।
यसै दिन तत्कालीन प्रमुख जिल्ला अधिकारी घिमिरेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो। बैठकले सबै पक्षलाई आ–आफ्नो तहबाट सामाजिक सद्भाव कायम गर्न अपिल गर्ने निर्णय गरेको थियो।
त्यसैगरी गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
साँझ गृह मन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय गर्यो। फिर्ता बोलाइएकामा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवे र सशस्त्र प्रहरी बल कप्तानगञ्जका डीएसपी नन्दकिशोर महतो थिए। गृहमन्त्रालयले सुनसरीको सिडियोको रुपमा ईश्वरीप्रसाद अर्याल, कोशी प्रदेश प्रहरी प्रमुखमा डीआईजी शेखर खनाल, सुनसरी प्रहरी प्रमुखमा एसपी पुष्पराज मल्ल र सशस्त्र प्रहरी डीएसपीमा मदन नाथले जिम्मेवरी दिने निर्णय गरियो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते राति ९ बजेदेखि इनरुवा नगरपालिका–३ र ६ क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ क्षेत्र हुँदै पश्चिम कोशी ब्यारेजसम्म कर्फ्यु आदेश जारी गर्यो।
साउन १२ गतेः तनाव विस्तार र सद्भाव प्रयास
साउन १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हरिनगर र देवानगञ्ज क्षेत्रमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले कर्फ्यु आदेश जारी गरे।
यसै दिन दुहवीमा हिन्दु र मुस्लिम समुदायबीच सामाजिक सद्भाव कायम गर्न संयुक्त सद्भाव र्याली आयोजना भयो।
गृह मन्त्रालयबाट गठित उच्चस्तरीय छानबिन समितिले पनि यही दिनदेखि घटनाको अनुसन्धान सुरु गर्यो।
तर दिउँसो करिब २ बजे देवानगञ्ज–२ मा केही मुस्लिम समुदायका चारवटा पसलमा आगजनी भएको थियो। करिब ४ बजे प्रदर्शनकारी समूहका सञ्जय यादवमाथि अर्को समूहबाट आक्रमण भएको थियो।
दिउँसो करिब ३ बजे सुनसरीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोलीले मृतक ओमप्रकाश मेहताको परिवार तथा घाइते परिवारसँग भेटघाट गरेको थियो।
भोक्राहा नरसिंह क्षेत्रमा पनि दुई समुदायका युवाबीच आमनेसामने झडप भएको थियो। दुवै पक्षबाट ढुंगा, सिसा र लाठी प्रहार भएको थियो।
साँझ ९ बजेदेखि प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुनसरीका १० वटा स्थानीय तहमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे।
राति करिब ७ः३० बजे देवानगञ्ज–२ मा पुनः दुई समूहबीच झडप हुँदा रिजमान अन्सारी (४८) र आलम अन्सारी (४७) घाइते भए।
साउन १३ गतेः अनुसन्धान र सद्भाव अभियान
गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले साउन १३ गते देवानगञ्ज–३ कप्तानगञ्ज पुगेर घटनास्थलको सूक्ष्म अध्ययन गरेको थियो। समितिले पीडित परिवारसँग समेत भेटघाट गरेको थियो।
यसै दिन इटहरी नागरिक समाजको आयोजनामा सामाजिक सद्भाव कायम गर्न सद्भाव र्याली प्रदर्शन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा भर्खरै सकिएको सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संयुक्त प्रतिबद्धता सार्वजनिक गरियो। जिल्लाका स्थानीय तहका प्रमुख, संघीय सांसद, राजनीतिक दलका नेतृत्व सहभागी भएका थिए।
देवानगञ्जसँगै आसपासका क्षेत्र शान्त हुँदै गएका छन्।
प्रकाशित: १४ श्रावण २०८३ ०८:३० बिहीबार





