१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

सुनकोसी सुमो जीप दुर्घटना: बेपत्ता तीनमध्ये दुई यात्रुको श’व फेला

क्याप्शन

दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रममा सिन्धुलीको सुनकोसी नदीमा सुमो जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई यात्रुको शव एक सातापछि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बेपत्ता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि फुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव छुट्टाछुट्टै नदी किनारमा भेटिएको हो।

फुर्कुटीको शव आइतबार साँझ उदयपुरको कटारी नगरपालिका-१४ लेखानीस्थित सुनकोसी किनारमा फेला परेको थियो भने राईको शव सोमबार दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदी किनारमा भेटिएको हो।

आफन्तले शव पहिचान गरेपछि मंगलबार जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको खोटाङका प्रहरी प्रमुख डीएसपी प्रकाश खड्काले जानकारी दिए।

दुर्घटनामा बेपत्ता भएका लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्रातीको भने अझै अत्तोपत्तो छैन। उनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र आफन्तहरू जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

कात्तिक १ गते राति ९:३० बजे काठमाडौंबाट ९ जना यात्रु लिएर हिँडेको को १ ज २०७६ नम्बरको सुमो कात्तिक २ गते बिहान करिब ३:३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २ सय मिटर तल नदीमा खसेको थियो।

दुर्घटनालगत्तै घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी-५ लफ्याङ छिवाकी २१ वर्षीया युपना राई, उनकै बहिनी १९ वर्षीया काव्या राई र खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा थिए। उनीहरूको शव सडकभन्दा तल नदी किनारमाथि नै फेला परेको थियो।

दुर्घटनामा चालकसहित घाइते भएका चार जनाको अवस्था सुधारोन्मुख छ। घाइतेमध्ये दिक्तेल रूपाकोट मझुवागढी-३ बाम्राङकी ३८ वर्षीया सम्झना राई र उनकी १२ वर्षीया छोरी शिवानीलाई हेलिकप्टरमार्फत काठमाडौं पुर्‍याएर उपचार गरिँदैछ।

ओखलढुंगाका चालक आशिष विश्वकर्मा र मृतक स्वस्तिकाका भाइ १३ वर्षीय अङ्कित विश्वकर्माको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १० कार्तिक २०८३ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App