१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोसीमा अचानक ठुलो बाढी : के भन्छन् बाढी पूर्वानुमान महाशाखा प्रमुख ?

रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट अचानक ठुलो बाढी प्रवेश गरेको बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताएका छन्। उनका अनुसार बाढी नुवाकोट सदरमुकाम विदुरभन्दा केही तलसम्म पुगिसकेको छ।

पराजुलीका अनुसार भोटेकोसीमा आएको बाढीले माथिल्लो क्षेत्रमा ठुलो क्षति गरेको सूचना आएको छ। यसको असर मुग्लिनसम्म पर्न सक्ने आकलन गर्दै नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रलाई अति उच्च जोखिममा राखिएको उनले बताए।

उनले त्रिशुली नदीसँग जोडिएका तादी, बुढीगण्डकीलगायत अन्य नदी तथा खोलामा समेत ‘ब्याक वाटर’को असर पर्न सक्ने भएकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे। नदी तटीय क्षेत्रमा रहेका घर तथा बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन र पृथ्वी राजमार्गसहित प्रभावित क्षेत्रमा आवागमन नगर्न पनि उनले अनुरोध गरे।

पराजुलीका अनुसार तत्काल माथिल्लो क्षेत्रमा ठुलो वर्षा भएको देखिँदैन। त्यसैले यो बाढी वर्षाका कारण आएको नदेखिएको उनले बताए। बाढीको तीव्र अवस्था करिब आधा घण्टादेखि एक घण्टासम्म रहन सक्ने र मुग्लिनसम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्न सक्ने अनुमान गरिएको उनले बताए। त्यसैले आज बेलुकासम्म अति उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

बाढी हिमताल विस्फोटनका कारण आएको हो वा अन्य कारणले भन्नेबारे चीन सरकारसँग समन्वय गरी उपग्रहबाट प्राप्त सूचनासमेत अध्ययन गरेर निष्कर्ष निकालिने पराजुलीले बताए।

उनले पछिल्ला सूचना लिन ११५५ टोल फ्री नम्बर प्रयोग गर्न पनि सर्वसाधारणसँग आग्रह गरेका छन्।

प्रकाशित: १० भाद्र २०८३ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App