साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका महोत्तरीका किसान अहिले प्रेरक व्यक्तिको उदाहरणका रूपमा उभ्याइने गरिन्छ। ‘गरे के हुँदैन ?’ भन्ने आहान महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यदेव महतोले सङ्कल्प र लगनले चरितार्थ गरेको छ। झन्डै १६/१७ वर्षअघि तरकारीखेतीमा जोडिनुभएका महतोलाई अहिले न फुर्सद छ, न पछाडि फर्कनुपरेको छ। केही गर्ने हुटहुटी, सङ्कल्प र लगनले नै उनलाई यो सफलता प्राप्त भएको हो।
करिब एक बिघा (२० कट्ठा) जग्गामध्ये १५ कट्ठामा तरकारीखेती गरेका महतोको बारीमा परवल लहलहाएको छ। खुर्सानीका बोट फूल र चिचिलाले झपक्क छन्। त्यसैगरी काँक्रा, बोडी, घिरौला, झिगुनी, लौका र फर्सीका लहरामा आँख्लैपिच्छे फल लागेका छन् । सबैभन्दा रहरलाग्दो त उहाँको करेलाखेती छ। महतोले बर्सेनि पाँच÷छ कट्ठामा करेलाखेती गर्दै आएका छन्। मुख्य सडक छेउकै बारीमा रहेको उनको बारीको मचानमा परैबाट लटरम्म देखिने करेला हेर्न बटुवा पुग्छन्।
तरकारीखेतीमा जमेका महतोको विशेष पहिचान भने करेलाले नै बनाएको छ। वर्षभरिमा फरकफरक मौसम (सिजन)मा गरेर पाँच/छ कट्ठा करेलाखेती गर्दै आएका उनको करेलाखेती सडकबाटै देखिने हुँदा बटुवाका लागि यो प्रदर्शनीजस्तै बनेको बर्दिबास–२ बारनचौडीका उमेश आचार्य बताउछन्।
‘करेलाखेती त अन्त पनि भएकै छ, तर सतो (सत्यदेवको बोलाउने नाउँ)को खेती हेरेपछि मन दङ्ग हुन्छ’, महतोको करेला बारी पुग्नुभएका आचार्य भन्छन्। भङ्गाहा र वरपर छरछिमेकका बस्तीमा तरकारीखेतीको कुरा चल्यो कि त्यहाँ सत्यदेवको कुरा उप्किहाल्छ। महतोले मौसमअनुसारको बोडी, खुर्सानी, काँक्रा, परबल, झिगुनी, लौका, फर्सी, घिरौला र ओलसहितका तरकारी लगाउनु भए पनि उनलाई चिन्नेले करेलाकै नामबाट उभ्याउँछन्।
दाजुभाइबीच अंशवण्डा भएपछि कमाउन कतार जाने सोचले राहदानी बनाउनुभएका महतो कतै ऋण नपाएपछि विलखबन्द परेका थिए। अब बाँच्न तरकारीखेतीमा लाग्छु भनेर काम थालेका उनले त्यसयता कहिल्यै पछाडि फर्कनुपरेको छैन। ‘आफूसँग भएको करिब एक बिघाजति जग्गामध्ये १५ कट्ठामा तरकारीखेती गर्छु’, महतो भन्छन्, ‘यसले मलाई सधैँ काममा अघि बढ्न हौसला दिएको छ।’
तरकारीखेती थालेपछि दुईचार पैसाका लागि कसैसँग हात थाप्नु नपरेको र उल्टै छरछिमेकको आपत्विपद्मा सरसहयोग गर्न पाउँदा सन्तोष मिल्ने गरेको उनी बताउछन्।
पाँच कट्ठाको अन्नबाली (धान, गहुँ)ले खाने अन्न र १५ कट्ठा तरकारीखेतीले बर्सेनि १०–१२ लाख नगदको जोहो भएपछि त्यतिखेर विदेश जान ऋण नपाएर ठिकै भएछ भन्ने लाग्ने गरेको उनले बताए। ‘मेरो करेलाखेतीले मान्छेको मन तानेको छ, मलाई नाउँ नजान्नेले त ‘करेलावाला’ नै भन्ने गरेका छन्’, उनी भन्छन्, ‘यसले कमाइ पनि राम्रै दिएको छ। अरुभन्दा करेलामा बढी रेखदेख र स्याहार पुर्याउन पर्ने हुँदा सबैले यो खेती गर्दैनन्। मैले चाहिँ बर्सेनि गर्दै आएको छु।’
लागत र रेखदेख बढी गर्न परे पनि अन्य तरकारीको तुलनामा करेलाको भाउ सधैँ उच्च हुँदा कहिल्यै हरेस खान नपरेको उनको अनुभव छ।
बाह्रैमास उत्पादन लिन सकिने करेला राम्रो जातको पर्दा रोपेको ५० दिनमै उत्पादन दिन थाल्ने महतोले बताए। माया, राजधानी, विजेता र इण्डो–अमेरिकी जातका करेलाको खेती बढी हुने गरेको उनको भनाइ छ।
‘मचाहिँ बर्सेनि बारी फेरेर माया जातको करेला लगाउँछु, महतोले भने। माया चाँडै फुल्ने, फल लाग्ने, रोगको प्रकोप कम हुने र लामो र ठूलो आकारको हुँदा ग्राहकको रोजाइमा पर्ने गरेको उनको अनुभव छ। ‘२०० ग्राम त सरदरकै हुन्छ, मेरो बारीमा एउटा करेला ३०० ग्रामसम्मको बाक्लै फलेको छ। करेलाखेतीले आफूलाई चिनाएको र आर्जन पनि राम्रै लिइएको उनी बताउछन्।
आफू खेतीमा जमेपछि विदेश जान तरखर गरेका आफ्ना पुस्ताका साथीलाई तरकारीखेतीमै डोहोर्याएको उनी सगर्व बताउछन्। आफ्नै देखासिकी र प्रेरणाले बस्तीका पाँचसात जना विदेश जान त्यागेर तरकारीखेतीमा जमेका उनले नाम कमाए।
पैसो नपाएर विदेश जान नपाएका साथीलाई यही काम गरे कमाइ हुन्छ भनेर हौसला दिँदै बेलामौकाको सहयोग गरेपछि पाँचसात जना अब तरकारीखेतीमै राम्ररी जमेका महतोको भनाइ छ।
‘मैले अब यतै काममा लाग, खेतीमा म पनि सघाउँछु भने, पाँचसात जना लागे, राम्रै गरेका छन्’, ३६ वर्षीय महतोकै सङ्गतले तरकारीखेतीमा पसेका सो बस्तीकै उनका समवयी उपेन्द्र यादव, हसन कवारी, चन्देश्वर राय दनुवार र सरोज महतो पनि अहिले अब्बल किसानमा दरिएका छन्।
तरकारीखेतीमा लागेर सफल किसान दरिएका सत्यदेव, हसन, उपेन्द्र, सरोज र चन्देश्वरसहितका समवयीका खेतीमा भोगिएका समस्या समान छन्।
‘भरपर्दो सिँचाइ छैन, चाहिएको ठिक्क बेला बीउबिजन, मल, औषधि पाइँदैन’, हसन भन्छन्, ‘तीन तहका सरकार छन् भन्छन्, हामीलाई के समस्या छ भनेर सोध्नसम्म पनि कोही आउँदैनन्।’
सबैभन्दा बढी समस्या भरपर्दो बीउमा पर्ने गरेको किसानको अनुभव छ। ठिक्क बेलामा बीउ, मल, सिँचाइ नपाएरै खेतीको समय नाघ्ने गरेको तीतो अनुभव यी किसानले सँगालेका छन्।
‘बीउ भारतीय बजारकै भर हो, कहिले त राम्रै पर्छ, कहिले भने ठगिएका छौँ’, महतो भन्छन्, ‘हाम्रा सरकारी निकायले पायक पर्ने ठाउँमा राम्रो बीउ किन्न दिए ठूलो राहत हुन्थ्यो’, त्यसैगरी कृषि प्राविधिकको सरसल्लाह र अनुगमन नहुँदा आवश्यक उपचार नपाएर मुखको बालीबाट हात धुनुपरेको विगत अनुभवले किसानी पेसा दुख्याहा कर्म नै रहेछ भन्ने धेरैलाई परेको छ।
किसानलाई बीउ, मल, सिँचाइ, प्राविधिक सल्लाह र बजारको सुव्यवस्था हुनसके खेतीले राम्रो कमाइ गर्न सकिने यी किसानको ठम्याइ छ।
प्रकाशित: १९ जेष्ठ २०८३ ११:३३ मंगलबार





