१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

ल्हासाको नेपाली महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ। प्रतिमाको अनावरण शुक्रबार (सन् २०२६ अप्रिल २५) सम्पन्न भएको हो।

उक्त प्रतिमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहलमा जे. भी. फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको जनाइएको छ। यसअघि फाउण्डेसनका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले काठमाडौंमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई प्रतिमा हस्तान्तरण गरेका थिए।

अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रतिमा उपलब्ध गराउने जे. भी. फाउण्डेसन नेपालका पदाधिकारी, प्रतिमा ल्हासासम्म पुर्‍याउन तथा महावाणिज्यदूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोषलगायत विभिन्न व्यक्तित्वलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत निरौलाले सातौँ शताब्दीमा तात्कालीन तिब्बती राजा स्रङ्चङ्गम्पोसँग विवाह गरेकी नेपाली राजकुमारी भृकुटीले नेपाल–चीन सम्बन्ध स्थापना र सुदृढीकरणमा उल्लेखनीय योगदान दिएको बताए।

उनले भृकुटीले चीनमा बौद्ध धर्मको स्थापना तथा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको, ल्हासाको योजनाबद्ध विकासमा समेत योगदान पुर्‍याएको उल्लेख गर्दै महावाणिज्यदूतावासमा उनको प्रतिमा स्थापना गर्न पाउनु गौरवको विषय भएको बताए।

कार्यक्रममा नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली तथा जे. भी. फाउण्डेसन नेपालका प्रतिनिधिहरूले समेत मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १४ वैशाख २०८३ १७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App