२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

समुद्र सतहबाट ८८० मिटरको उचाइमा रहेको चितवनको माडी नगरपालिकास्थित ऐतिहासिक सोमेश्वरगढीमा प्रधानसेनापति ९काजी० अभिमानसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ। माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक अनावरणसँगै पार्कले पूर्णता पाएको छ। 

नेपाली सेना मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरणस्वरूप शालिक अनावरण गरे। पूर्ण सैनिक पोसाकमा, बायाँ हातमा ढाल, दायाँ हातमा तरबार र कम्मरमा खुकुरीसहित उभिएको शालिकले नेपाल एकीकरणको वीरगाथा र राष्ट्रिय स्वाभिमानको सन्देश दिने विश्वास उनले व्यक्त गरे। 

बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गरे भने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले शालिक परिसरमा निर्माण गरिएको सोमेश्वर ढुङ्गेधाराको उद्घाटन गरिन्। माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले उपस्थितलाई स्वागत गरे। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, अन्य सुरक्षा निकाय, स्थानीयवासी तथा बुद्धिजीवीको सहभागिता थियो। 

नगरप्रमुख महतोले अभिमानसिंह बस्न्यातको शालिक अनावरणसँगै एउटा ऐतिहासिक कामले पूर्णता पाएको बताए। शालिक निर्माणका लागि बागमती प्रदेश सरकार, माडी प्रज्ञा प्रतिष्ठान, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरे। 

बस्न्यातको इतिहासको खोज, अनुसन्धान र दस्तावेजीकरणमा माडी प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नगरप्रमुख महतोले त्यसैका आधारमा शालिक निर्माणलाई पूर्णता दिन सकिएको बताए। पार्क निर्माण तथा व्यवस्थापनमा नेपाली सेनाले प्रतिकूल अवस्थाका बीच पनि निरन्तर खटेर काम गरेको भन्दै उनले सेनाको योगदानको प्रशंसा गरे।  

निर्माण अवधिभर आवश्यक सामग्री उपलब्ध गराउने जिम्मेवारी माडी नगरपालिकाले निर्वाह गरेको जानकारी दिँदै नगरप्रमुख महतोले सेनाले आफ्नो सीप र मेहनतबाट पार्कलाई पूर्णता दिएको उल्लेख गरे। उनले सोमेश्वरगढी र सोमेश्वर कालिका मन्दिर माडीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदासँग जोडिएका महत्वपूर्ण स्थल रहेको बताए। 

विगतमा माडीमा महामारी फैलिँदा वा खडेरी पर्दा स्थानीय बासिन्दाले सोमेश्वर कालिका मन्दिरमा पूजा तथा भाकल गर्ने परम्परा रहेको स्मरण गर्दै गढी र मन्दिर दुवैलाई समेटेर पर्यटन विकास गर्न आवश्यक रहेको उनले धारणा राखे। सोमेश्वरगढी नेपालका १०० पर्यटकीय गन्तव्यमध्ये एकमा सूचीकृत भएपछि यसको महत्व अझ बढेको उल्लेख गर्दै उनले त्यसयता प्रदेश र सङ्घीय सरकारको ध्यान यस क्षेत्रमा केन्द्रित भएको बताए। 

नगरप्रमुख महतोले भने, ‘माडीमा सोमेश्वरगढी मात्रै नभई धेरै धार्मिक तथा पर्यटकीय स्थल छन्। माडी नगरपालिकाले ठूलो सम्भावना बोकेको हुनाले यसलाई पर्यटकीय नगरी घोषणा गर्न प्रदेश सरकारसँग निरन्तर अनुरोध गरिरहेका छौँ।’  

प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले सोमेश्वरगढी नेपालकै एक ऐतिहासिक स्थल भएको बताए। ‘यस स्थानको विकास, यहाँ बनाइएका पूर्वाधार र आज गौरवका साथ शालिकसमेत स्थापना हुनु हामी सबैको सामूहिक सहयोग र प्रयासको परिणाम हो,’ उनले भने।  

प्रदेशसभा सदस्य ढकालले राष्ट्रिय गौरव र इतिहास जगेर्नाका लागि माडी नगरपालिका र नेपाली सेनाले गरेको उदाहरणीय कामको प्रशंसा गर्दै धार्मिक तथा ऐतिहासिक गढीको विकासका लागि प्रदेशका तर्फबाट आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।  

कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालका प्रथम सेनापति काजी शिवरामसिंह बस्न्यात र वीराङ्गना शुरप्रभा बस्न्यातका साहिला सुपुत्रका रूपमा विसं १८०१ फागुन ७ गते गोरखामा जन्मिएका अभिमानसिंह बस्न्यात नेपाल एकीकरण अभियानका महान् स्तम्भ थिए। उनले विसं १८१२ मा गोरखा सिरानचोक अभियानबाट सैनिक जीवनको यात्रा प्रारम्भ गरेका थिए। 

‘कुशल कूटनीतिज्ञ, सक्षम प्रशासक तथा अद्वितीय सैन्य नेतृत्वका धनी बस्न्यातले नेपाल एकीकरणका क्रममा अनेकौँ ऐतिहासिक विजय हासिल गरेका थिए। विसं १८१९ को मकवानपुर विजय, विसं १८२५ को काठमाडौँ तथा पाटन विजय र विसं १८२६ को भक्तपुर विजयमा उनले निर्णायक तथा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए,’ कार्यक्रममा नगरप्रमुख महतोले भने।  

उनले इतिहासअनुसार विसं १८३० देखि १८३१ सम्म माझकिरात, चौदण्डी, विजयपुर तथा लिम्बुवान हुँदै नेपालको पूर्वी सिमाना टिस्टा नदीसम्म पुर्‍याउने अभियानको सफल नेतृत्व पनि बस्न्यातले नै गरेको उल्लेख गरे। ‘विसं १८४१ मा मकैडाँडाको युद्धमा चौबिसे राज्यहरूको संयुक्त शक्तिविरुद्ध ऐतिहासिक विजय हासिल गरेका थिए। विसं १८४८–१८४९ को नेपाल–तिब्बत युद्धमा पनि उनले महत्वपूर्ण योगदान दिँदै राष्ट्रिय हित र सम्बन्ध संरक्षणमा विशेष भूमिका निर्वाह गरेका थिए,’ नगरप्रमुख महतोले भने।  

समुद्र सतहबाट ८८० मिटरको उचाइमा चुरे पर्वतमालाको दक्षिणी शृङ्खलामा अवस्थित सोमेश्वरगढी तत्कालीन समयमा नेपालको दक्षिणी प्रतिरक्षा प्रणालीको प्रमुख केन्द्र थियो। मध्यपहाड, माडी उपत्यका र तराई जोड्ने रणनीतिक मार्गमाथि निगरानी राख्न सकिने यस गढीलाई विसं १८३४ मा काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा तत्कालीन तनहुँ राज्यबाट जितेर नेपालमा समाहित गरिएको थियो। यो विजयले नेपालको दक्षिणी सिमानालाई सुरक्षित बनाउँदै एकीकरण अभियानलाई थप स्थायित्व प्रदान गरेको थियो।  

सैनिक विधामा मात्र नभई राज्य सञ्चालनमा पनि निपुण बस्न्यातले विसं १८५० देखि १८५५ सम्म काजीका रूपमा राज्य प्रशासन, आर्थिक व्यवस्थापन तथा शासन सञ्चालनको नेतृत्व सफलतापूर्वक सम्हालेको इतिहास रहेको नेपाली सेना मध्य पृतनापति उपरथी खड्काले जानकारी दिए। अनवरत रूपमा राष्ट्रसेवामा समर्पित रहँदै विसं १८५७ असार १३ गते काला वञ्जर क्षेत्रमा उनको देहावसान भएको थियो।  

काजी अभिमानसिंह बस्न्यातलाई अद्वितीय वीरता, दूरदर्शिता, अटल राष्ट्रनिष्ठा र त्यागका प्रतिमूर्तिका रूपमा स्मरण गरिन्छ। उनले निर्माण गरेको विशाल नेपाल र विजय हासिल गरेको सोमेश्वरगढीले आज पनि नेपालको गौरवशाली सैनिक इतिहास, राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डताको जीवन्त स्मरण गराइरहेको छ।

प्रकाशित: २७ असार २०८३ १८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App