२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

प्रहरीले भन्यो: परिवारले कमल भुसाललाई सुधार केन्द्र पठाए/नपठाएबारे फलोअप गर्छाैं

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले अभियन्ता डा. कमल (निकोलस) भुसाललाई परिवारले सुधार केन्द्र पठाए-नपठाएकोबारे प्रहरीले निरन्तर निगरानी (फलोअप) गर्ने बताएका छन्।

लागूऔषध (गाँजा) सेवन गरेको मेडिकल रिपोर्ट आएपछि उपचार गराउने सर्तमा परिवारको जिम्मा लगाइएका भुसालले सामाजिक सञ्जालमार्फत आरोप अस्वीकार गरेपछि प्रहरीले यस्तो प्रतिक्रिया दिएको हो।

बिहीबार माइतीघरमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्न खोज्दा पक्राउ परेका भुसाललाई प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणमा उनले गाँजा सेवन गरेको पुष्टि भएपछि परिवारलाई सुधार केन्द्र पठाउने सर्तमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

तर, रिहा भएलगत्तै फेसबुक लाइभमा आएका भुसालले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका थिए। ‘मेरो बारेमा नराम्रो फैलाउन गाँजा सेवन गरेको भनियो। पुलिस भित्र अझै पुरानो शक्ति हाबी रैछ,’ उनले भनेका थिए, ‘म किन सुधार केन्द्र जानू ? म जाँड-रक्सी, ड्रक्स छुटाउने डाक्टर हुँ।’

भुसालको उक्त दाबीपछि एसपी भट्टराईले प्रहरी आफ्नो प्रक्रियामा अडिग रहेको स्पष्ट पारे।

‘उहाँको मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको देखिएको छ। हामीले उहाँको परिवारलाई उपचार गराउने सर्तमा जिम्मा लगाएका हौं, र त्यसको कार्यान्वयन भए/नभएको हामी फलोअप गर्छौं, उहाँको परिवारलाई फेरी बोलाउँछाैं,’ उनले नागरिक न्युजसँग भने।

प्रवक्ता भट्टराईले यो भुसालको दोस्रो पटकको यस्तै घटना भएको उल्लेख गर्दै यदि परिवारले सर्तअनुसार उपचार नगराएमा कडा कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिए।

‘यो उहाँको दोस्रो पटक हो। यदि सर्त उल्लंघन भएमा अब उप्रान्त कडा कानुनी कारबाही हुन्छ,’ उनले भने।

बिहीबारको प्रदर्शनबाट भुसालसहित ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २३ आश्विन २०८२ २२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App