स्पा सेन्टरमा कार्यरत बालिकालाई ललाई-फकाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने एक सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका-२ सानेपास्थित अरुण थापा चोकमा शुकल्प स्पा एण्ड थेरापी सञ्चालन गर्दै आएकी गोरखा सिरानचोक गाउँपालिका-३ घर भएकी सुमन कुमाल (सुमन थापा मगर) लाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुमनले आफ्नो स्पामा स्टाफको रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारेर ग्राहकहरूको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्यमा लगाउने गरेकी थिइन्।
स्पामा सेवा लिन आउने ग्राहकहरूसँग मिलेर बालिकालाई यौनजन्य गतिविधिमा संलग्न गराएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेकी सुमनमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्पा सेन्टरको आवरणमा हुने यस्ता अपराधिक गतिविधि रोक्न प्रहरीले निगरानी बढाएको समेत जानकारी दिएको छ।
प्रकाशित: २४ जेष्ठ २०८३ १७:२८ आइतबार





