नेपालमा हालै उत्पन्न नागरिक अशान्तिको क्रममा पत्रकार र मिडिया संस्थालाई लक्षित हिंसात्मक कार्यको दक्षिण एसिया पत्रकार महासंघ (एसजेएफ) ले कडा शब्दमा निन्दा गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै धम्की, शारीरिक आक्रमण, मनमानी नजरबन्द र पेसागत कार्यमा अवरोधलाई प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारमाथिको प्रत्यक्ष हमला भनेको छ।
एसजेएफका अध्यक्ष गीतार्थ पाठकले पत्रकारको सुरक्षा र सम्मान सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै भने, ‘मिडियामाथिको आक्रमणले लोकतन्त्र, सत्य र जवाफदेहिताको आधारलाई कमजोर बनाउँछ।’ उनले नेपाल सरकारलाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न तत्काल र निर्णायक कदम चाल्न आह्वान गरे।
महासचिव शकील अहमदले पत्रकारमाथि आक्रमण गर्नेहरूलाई तत्काल जवाफदेही बनाउन र दण्डहीनताको अन्त्य गर्न जोड दिए। उनका अनुसार, पत्रकारले विशेषगरी संकटको समयमा स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण पाउनु अत्यावश्यक छ।
महासंघका वरिष्ठ उपाध्यक्ष शिव लम्सालले सरकारसँग पत्रकारले निर्बाध रूपमा समाचार संकलन गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे। साथै, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि आक्रमण अस्वीकार्य रहेको स्पष्ट पारे।
महासंघले मिडियालाई प्रमाणित र तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न र गलत सूचना रोक्न आग्रह गरेको छ। साथै, नागरिक समाज, राजनीतिक दल र सुरक्षाकर्मीलाई पत्रकारको अधिकार र स्वतन्त्रताको सम्मान गर्न अपिल गरेको छ।
प्रकाशित: २८ भाद्र २०८२ १२:०८ शनिबार





