२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

सामाजिक विकास मन्त्रीका उपलब्धि : खस शब्दकोषदेखि राउटे करिडोरसम्म

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कार्यभार सम्हालेको एक वर्षमा भए/गरेका कार्य प्रगति पुस्तकमार्फत सार्वजनिक गरेका छन्। अघिल्लो वर्षको साउन २० गते मन्त्री नियुक्त भएका भण्डारीले यो अवधिमा गरेका कामहरू विवरणसहित ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नामक पुस्तक प्रकाशन गरेका हुन्।

पुस्तकमा खस भाषाको शब्दकोष (खसिया आखर) प्रकाशन तथा शोधकर्ता लेखकलाई प्रोत्साहन गरिएकोदेखि नेपालको एक मात्रै लोपोन्मुख घुमन्ते राउटे समुदायका लागि ‘राउटे करिडोर’ निर्माणसम्मका उपलब्धि उल्लेख गरिएको छ। २०६५ सालबाट जुम्लाका रमानन्द आचार्यले लेख्न सुरु गरेको ‘खसिया आखर’ शब्दकोष प्रकाशनमा मन्त्रालयले आर्थिक सहयोग गरेको छ। यो खस भाषाको पहिलो शब्दकोष हो।  

यस्तै नेपालको एक मात्रै घुमन्ते समुदायका लागि राउटे करिडोर निर्माण र राउटे सम्वन्धी नीति बनाउने काम अन्तिम चरणमा पुगेको पुस्तकमा उल्लेख छ। कर्णालीका विशेष गरेर दैलेख, सुर्खेत, सल्यान, जाजरकोटलगायतका जिल्लामा घुमन्ते जीवन विताउने राउटे समुदायका लागि करिडोर निर्माण गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिए। ‘पछिल्लो १० वर्षमा उनीहरू कहाँकहाँ बस्ती बसे त्यसको आधारमा राउटे करिडोर निर्माण गरिरहेका छौं,’ उनले भने, ‘उक्त करिडोरभित्रका सामुदायिक वनहरूको विधान र कार्ययोजनामा राउटे समुदायलाई अनिवार्य सदस्य बनाउने, निर्वाधरुपमा काठका भाँडावर्तन बनाउन आवश्यक काठहरू काट्न दिनेलगायत विषय राउटे करिडोरभित्र समेटिएको छ।’

मन्त्री भण्डारीले राउटे नीति पनि अन्तिम चरणमा पुगेको बताए। ‘एकद्वार प्रर्णालीमार्फत राहत वितरण, मदिरा निषेध, उनीहरूको मूल प्रवाहीकरणलगायतका विषयहरू नीतिमा समेटेका छौं,’ उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोग, समावेशी आयोग र न्यायालयले दिएको आदेशका आधारमा नीति तयार गरिएको हो।’

मन्त्री भण्डारीले विगतमा वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन बजेट आएको धेरै समयपछि स्वीकृत हुने र यसले कर्णालीको विकास बजेट कार्यान्वयनमा समस्या देखिने गरेकाले यो वर्ष साउन ११ गते नै वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताए।

यस्तै एक वर्षको अवधिमा गम्भीर रोग लागेर मेजर अपरेशन गरेका १३१ जना बिरामीलाई प्रति बिरामी एक लाखसम्मको उपचार सहायता प्रदान गरिएको, पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानमार्फत ९५ प्रतिशतभन्दा माथि किशोरीलाई खोप लगाइएको, डोल्पा, जुम्ला र रूकुम पश्चिम जिल्लाका विभिन्न स्थानमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले आफ्नो एक वर्षे उपलब्धिमा उल्लेख गरेका छन्।

पुस्तकमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि बनाएर प्रदेशभर २२ हजार ७५१ जनाको स्वास्थ्य परीक्षण गरी ४ हजार ७५८ जनामा उच्च रक्तचाप, मधुमेह, मृगौला जस्ता दीर्घरोग पहिचान भएकोमा परामर्श तथा उपचार सेवा प्रदान गरिएको उल्लेख छ।  

यस्तै धार्मिक विद्यालयको समस्या पहिचान र समाधानका निमित्त कार्यदल गठन भई प्रतिवेदन प्राप्त भएकाले त्यसलाई कार्यान्वयनमा लिने, दश वर्षे शिक्षा योजनाको मस्यौदा तयार गरिएको, शिक्षक प्रोत्साहन पुरस्कार वितरण, प्रदेश बाल अधिकार समिति गठन, बालबालिका खोजतलास केन्द्र (१०४) सञ्चालन, बालबालिका स्थिति प्रतिवेदन प्रकाशन गरिएको उनले एक वर्षे कार्यकालको उपलब्धिमा उल्लेख गरेका छन्।

उनले प्रदेश रंगशालाको ९९ प्रतिशत कार्य सम्पन्न भएको, दशौं राष्ट्रिय खेलकुद तयारीका लागि खेलाडी, प्रशिक्षकलगायत प्रदेशका सरोकारवालाहरूसँग छलफल तथा सुझाव संकलन गरिएको, प्रदेशस्तरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन तथा र सम्पन्न गरी १४ औंमा सहभागी भई ३८ पदक प्राप्त भएको बताए।  

उनले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरिएको, भाषा संस्कृतिको क्षेत्रमा योगदानमा आधारित प्रोत्साहन तथा प्रादेशिक प्रतिभा पुरस्कारको व्यवस्था गरिएको, मूर्त र अमूर्त संस्कृतिको अभिलेखीकरण तथा प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन गरिएको, दैलेखको दुल्लू र जुम्लाको सिंजा क्षेत्रको पुरातात्विक विषयको अन्वेषण तथा अभिलेखीकरण गर्न लागिएको ज्वाला, सिंजा र कर्णाली सभ्यतासँग जोडिएका अभिलेख, स्तम्भहरू विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि कर्णालीका सम्पदाहरूको पहिचान सम्बन्धी कार्य गरिएको बताएका छन्।

प्रकाशित: २३ श्रावण २०८२ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App