२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

आफ्नै मुलुकमा गाँजा तस्करी गर्छन् भारतीय!

नेपाललाई ट्रान्जिट बनाएर भारतीय नागरिकले थाइल्यान्डको गाँजा तस्करी गरिररहेका छन्। थाइल्यान्डबाट गाँजा नेपाल ल्याउने र नेपालबाट भारततर्फ लैजाने धन्दामा भारतीय नागरिक नै संलग्न भएको पाइएको हो। थाइल्यान्डमा उत्पादित गाँजा उच्च गुणस्तरको हुने भएकाले त्यसलाई ल्याएर बिक्री गर्ने धन्दामा भारतीय नागरिक भरिया र कारोबारी दुवै रूपमा संलग्न भएको तथ्य सार्वजनिक भएका छन्।

थाइल्यान्डका विभिन्न भागमा उत्पादित गाँजा नेपाल ल्याएर भारततर्फ लैजान लागेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले दिएको जानकारीअनुसार विगत एक महिनामा आठ जना भारतीय नागरिक थाइल्यान्डको गाँजासहित पक्राउ परेका छन्।

प्रहरीका अनुसार लागुऔषध ब्युरोले एक वर्षको अवधिमा सात महिलासहित ४५ भारतीयलाई मुद्दा चलाएको छ। ‘थाइल्यान्डको गाँजा तस्करीमा भारतीय नागरिक कारोबारी र भरिया दुवै रूपमा फेला परेका छन्। पक्राउ परेका उनीहरूलाई मुद्दा चलाइएको छ,’ ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले भने।

भारतीय नागरिकले थाइल्यान्डबाट ल्याएको गाँजा नेपाल हुँदै स्थलमार्गबाट भारततर्फ लैजान लागेको अवस्थामा बरामद गरिएको हो। ‘थाइल्यान्डबाट नेपाल ल्याएर स्थलमार्ग हुँदै भारतका विभिन्न स्थानमा पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ, एसएसपी कोइरालाले भने, ‘यसमा भारतमा औषधि उद्योग सञ्चालन गरिहेका व्यक्ति पनि पक्राउ परेका छन्।’

कोइरालाका अनुसार थाइल्यान्डबाट हवाई रूट हुँदै भारतीय र थाई नागरिकले नेपालमा गाँजा ल्याउने र नेपालबाट भारत लैजान लागेको अवस्थामा पटकपटक गरी दुई सय किलोभन्दा बढी गाँजा विमानस्थलबाट बरामद गरिएको छ।

ब्युरोका अनुसार गत असार २१ गते भारतीय नागरिक बसिर थाइल्यान्डबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए। बसिरको सुटकेसबाट दुई किलो गाँजा बरामद भएपछि उनी पक्राउ परेका हुन्। सोही दिन थाई नागरिक मिस श्रविन पनि विमानस्थलमै गाँजासहित पक्राउ परेकी थिइन्।

उनको लगेजबाट पाँच किलो २ सय ग्राम गाँजा बरामद भएको थियो। त्यस्तै गत जेठ ८ गते २ जान भारतीय नागरिक कपिल भारद्वाज र उनका सहयोगी भनिने पवन विमानस्थल परिसरबाट गाँजासहित पक्राउ परेका थिए। सुरक्षा जाँचका क्रममा पवनको सुटकेसमा ९ किलो गाँजा भेटिएको थियो। उनलाई त्यो गाँजा दिने व्यक्ति पनि भारतीय नै भएको प्रहरी बताउँछ।

भारतको हिमाञ्चल प्रदेशमा औषधि उद्योग सञ्चालन गरिरहेका अमरजित सिंहले थाइल्यान्डबाट उक्त गाँजा पठाएका थिए। त्यसबापत कपिलले एक लाख र पवनले १५ हजार रूपैयाँ पाउने सहमति भएको खुल्न आएको छ। प्रहरीका अनुसार कपलिको बयान सुन्दा उनी र पवन दुवै भरिया हुन्। बयानका आधारमा सिंह मुख्य कारोबारी देखिएका छन्।

लागुऔषध नियान्त्रण ब्युरोका प्रमुख एसएसपी कोइरालाका अनुसार उनीहरूको नेपालमा मदिरा पसल पनि छ। काठमाडौं चुच्चेपाटीमा मदिरा पसल चलाइरहेका सिंह र भारद्वाजले थाइल्यान्डको बैंकक पुगेर गाँजा ल्याएको अनुसन्धानबाट खुल्न आएको छ। सिंह गाँजासहित नेपालमा पक्राउ परेका होइनन्। उनलाई ब्युरोको टोलीले नेपाल ल्याएको हो। भारद्वाजकी पत्नीले आफ्ना पति निर्दोष रहेको यो सबै काम सिंहले गरेको भनेपछि उनलाई नेपाल ल्याइएको हो। अहिले तीन जनामाथि ब्युरोले अनुसन्धान गरिरहेको छ।

गत कात्तिक ५ गते पनि थाई महिला सोमरुदी होवाङलाई प्रहरीले विमानस्थलबाट पाँच केजी गाँजासहित पक्राउ गरेको थियो। उनले ल्याएको गाँजा लिन विमानस्थल गएका नेपालका प्रेम शाह पनि पक्राउ परेका थिए। त्यसपछि थाइल्यान्डबाटै आएका भारतीय नागरिक तिलकप्रसाद शर्मा पाँच केजी नौ सय ग्राम गाँजासहित कात्तिक ६ गते पक्राउ परेका थिए।

गाँजा तस्करीमा भारतीयको संलग्नता भेटिएपछि नेपाल प्रहरी झस्किएको छ। त्रिभुवन विमानस्थलबाट लागुऔषध ओसारपोसार हुनुले विमानस्थलको सुरक्षा प्रणालिमा पनि प्रश्न उठेको छ। थाइल्यान्ड गाँजाको खेती, बिक्री तथा सेवनलाई वैधता दिने एक मात्र एसियाली मुलुक हो। थाइल्यान्डमा सहज रूपमा पाइने गाँजा खरिद नेपाल, भारतलगायत मुलुकमा तस्करी भइरहेको प्रहरी आकलन छ। नेपालको बाटो भएर भारततर्फ लागुऔषध गाँजा तस्करी हुनुले कूटनीतिमासमेत असर पर्ने भएकाले नेपाल प्रहरी बढी नै सजग हुन थालेको छ।

२०२२ जुनदेखि थाइल्यान्ड सरकारले गाँजा बिक्री तथा सेवनलाई वैधानिकता दिएको थियो। थाइल्याण्डले पर्यटकलाई लक्षित गरी यसरी गाँजा बिक्रीलाई वैधानिकता दिएपछि अन्य देशमा तस्करी गर्न पनि सहज भएको प्रहरीको दाबी छ। नेपालमा उत्पादन हुने गाँजा र चरेस पनि विश्वका विभिन्न देशमा तस्करी हुने गरेको छ । थाइल्यान्डमा उत्पादन हुने गाँजा गुणस्तरीय भएकाले नेपाल र भारतमा तस्करी हुने गरेको प्रहरी अधिकारीको दाबी छ।

प्रकाशित: ११ श्रावण २०८२ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App