पोखरा फेवातालमा जाल हान्ने क्रममा एसएलआर राईफल फेला परेको छ। राइफलसँगै गोली पनि भेटिएका छन।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार पोखरा–१८ खपौंदीस्थित फेवातालमा जाल हान्दा अत्याधुनिक एलएलआर राईफल फेला परेको हो। उनका अनुसार स्थानीय ४२ वर्षिय कुमार जलारीले हाल हानेर माछा मार्ने क्रममा जालमा अड्केको अवस्थामा राईफल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए।
उनका अनुसार मु.वा.१११(बट)नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राईफल फेला परेको हो। हतियारसँगै सो राईफलमा प्रयोग हुने १८ राउण्ड गोलीसहितको एकथान म्यागजिन बरामद भएको बस्नेतले जानकारी दिए।
राईफल फेला परेको सूचना आएलगत्तै गएको प्रदेश प्रहरी कार्यालय गण्डकी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले राईफल बरामद गरेको उनले जानकारी दिए। बरामद हतियार कसको हो भन्ने बारेमा अनुसन्धान चलिरहेको डिएसपी बस्नेतले बताए।
प्रहरी, सेना वा सशस्त्र प्रहरी कसको हतियार हो भनेर अझै नखुलेको पनि उनले बताए। ‘भेरीफाई गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामी बुझ्ने प्रयास गरिरहेका छौं ।’ उनका अनुसार भेटिएको हतियारबारे केन्द्रीय कार्यालयमा रहेको अभिलेख केन्द्रको प्रबन्ध शाखामा रेकर्ड रहने भएकोले अनुसन्धान भईरहेको छ।
गत भदौमा भएको जेनजी आन्दोलनमा लुटिएको हतियार भने नभएको दावी गरे। ‘यसै त भन्न सकिन्न । तर, जेनजी आन्दोलनमा हराएको हतियार हो भनेर ठोकुवा पनि गर्न सकिने अवस्था छैन,’उनले भने, ‘जेनजी आन्दोलनमा पनि यस प्रकारको हतियार त हराएको थियो, तर अहिलेसम्मको अवस्थामा जेनजी आन्दोलनमा लुटिएको हो भन्ने अवस्था देखिदैन।’
प्रकाशित: १ फाल्गुन २०८२ १६:५३ शुक्रबार





