२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

इटहरीमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला

कोशी प्रदेशको इटहरीमा यही असोज १४ गतेदेखि सीप तथा रोजगार मेला आयोजना गरिने भएको छ।

युवा जनशक्तिको ऊर्जा एवं सीपलाई स्वदेशमा उपयोगको वातावरण सिर्जना गर्ने उद्देश्यले यही असोज १४ देखि २० गतेसम्म मेला आयोजना गर्न लागिएको युवा तथा श्रम मन्त्रालयले जनाएको छ।

‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी देशभर सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी थालिएको मन्त्रालयले जनाएको छ।

उक्त निर्देशिकाबमोजिम मेला आयोजना तथा सञ्चालनका लागि युवा, श्रम तथा रोजगारमन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति रहने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

‘मेलालाई सफल बनाउन सबै सरोकार भएका निकायहरूबाट प्रचलित कानुनबमोजिम वित्तीय, प्राविधिक तथा जनशक्तिलगायतको आवश्यक सहयोग र योगदान जुटाइनेछ। यसका लागि आवश्यक सहकार्य, समन्वय तथा सुरक्षा व्यवस्थापनका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग पत्राचार गरी अनुरोध गरिनेछ’, मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्देशिकाबमोजिमको कार्यान्वयन र सहजीकरण समितिले मेलाको समग्र व्यवस्थापन, सञ्चालन र कार्यान्वयन निर्देशिकाको दफा ७ बमोजिम गठित ‘कार्यान्वयन, समन्वय र सहजीकरण समिति’ ले गर्नेछ।

निजी क्षेत्र, उद्योग–प्रतिष्ठान, शैक्षिक तथा तालिम प्रदायक संस्था, विकास साझेदार, युवा, श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकाय एवं अन्य सरकारी निकायले स्टल र डेस्क राखी सूचना तथा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ मन्त्रालयले जनाएको छ।

तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घ–महासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको सहकार्य र समन्वयमा मेला सञ्चालन हुनेछ।

मेलामा सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवद्र्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने यस अभियानमा सम्बद्ध सबै सरोकार भएका निकायहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

यस सीप तथा रोजगार मेलामार्फत रोजगारदाताको वास्तविक जनशक्ति माग तथा रिक्त पद पहिचान र प्रमाणीकरण गर्ने, रोजगार खोजकर्ताको योग्यता, सीप, अनुभव र रुचिअनुसार रोजगार मिलान गर्ने तथा आवश्यक सीप परीक्षण, तालिम, प्रमाणीकरण, करियर परामर्श र उद्यमशीलता सेवासँग जोड्ने लक्ष्य राखिएको छ।

मेलास्थलमा सूचना तथा सहायता कक्ष, रोजगारदाता कक्ष, अन्तर्वार्ता क्षेत्र, सीप परीक्षण तथा प्रमाणीकरण डेस्क, तालिम तथा उद्यमशीलता सिफारिस सेवा, श्रम कानून तथा सामाजिक सुरक्षा जानकारी, गुनासो सुनुवाइ, प्राथमिक उपचार र आवश्यक सहजीकरणको व्यवस्था गरिनेछ।

प्रकाशित: १ आश्विन २०८३ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App