२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

श्रीलंकन ‘अन्डरवर्ल्ड डन’का ६ जना हत्यारा भक्तपुरबाट पक्राउ

श्रीलंकामा अन्डरवर्ल्ड डन गणेमुल्ला सन्जीवाको हत्यामा संलग्न ६ जना भक्तपुरबाट पक्राउ गरेका छन्। पक्राउ परेका सबैलाई अध्यागमन विभागले जरिवानासहित ‘डिपोर्ट’ गरेको छ।  

अध्यागमन विभागका अनुसार श्रीलंकाली डन सन्जीवाको हत्यामा संलग्न प्रमुख अभियुक्त इशारा सिउवान्डीसहित ६ जनालाई नेपाल प्रहरीले सोमबार राति पक्राउ गरेको थियो। सिउवान्डी पनि अन्डरवल्र्डकै सदस्य रहेको बताइएको छ।  

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा दिनेश निकान्थ, दिनेश श्यामान्था, जीवथसन कन्करासा, केन्डी बासटियमपिलाइ र थाक्सी नन्थाकुमार छन्।

अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार उनीहरू छ जनालाई प्रहरीले पक्राउ गरेर विभागमा बुझाएको थियो। विभागले सबैलाई एक वर्ष नेपाल आउन प्रतिबन्ध लगाएर डिपोर्ट गर्ने निर्णय गरेको उनले बताए। ‘उनीहरूलाई आजै दिउँसो १ बजेर ४५ मिनेटको जहाजबाट पठाइसकिएको छ,’ उनले भने।  

श्रीलंकाली डन सन्जीवाको गत फेब्रुअरी १९मा राजधानी कोलोम्बोमा रहेको हल्फ्सड्रप कोर्ट कम्प्लेक्स(अदालत) भित्र हत्या भएको थियो। हत्या भएपछि सबै अभियुक्त फरार भएको श्रीलंकन सञ्चारमाध्यमले जनाएका छन्।  

ganemulla-sanjeewa-1760525136.jpg
हत्या गरिएका अन्डरवर्ल्ड डन गणेमुल्ला सन्जीवा

अदालतभित्रै गोली हान्ने व्यक्ति शमिन्दु दिलशन पियुमांगालाई त्यही दिन विशेष टोलीले पक्राउ गरेको थियो। सिसिटिभी फुटेजमा सुटर पियुमांगालाई एक जना महिलाले सहयोग गरेको भिडिओमा देखिएको थियो, जसले पेस्तोललाई एउटा किताबभित्र राखेर अदालत भित्रसम्म लगेकी थिइन्। अनुसन्धानका क्रममा ती महिला नेपालमा पक्राउ परेकी इशारा सिउवान्डी रहेको खुलेको थियो।  उनी श्रीलंकाबाट डुंगामा चढेर भारत पुगेको र त्यहाँबाट बस र ट्रेनमार्फत नेपाल आइपुगेको विभिन्न सञ्चारमाध्यमलले लेखेका छन्।  

अध्यागमन विभागका अनुसार पक्राउ परेकामध्ये तीन जना ‘पर्यटक भिसा’मा नेपाल आएको भेटिएको छ। बाँकी तीन जना भारत हुँदै बेलहिया नाकाबाट नेपाल छिरेको पाइएको छ।  

‘पर्यटक भिसाबाट आएकाहरूको पनि भिसा अवधि सकिएको रहेछ। यसैले सबै अवैध ढंगले नेपालमा बसेको पाइए,’ विभागका सूचना अधिकारी ढकालले भने, ‘सोहीअनुसार सबैलाई जरिवाना गरिएको छ।’ उनीहरू कसैसँग पनि पासपोर्ट समेत नपाइएको उनले बताए। ‘ट्राभल डकुमेन्टकै आधारमा आएका रहेछन्,’ उनले भने। यद्यपि कोही पनि तीन महिनाभन्दा बढी समयदेखि नेपालमा नरहेको भने उनले बताए।  

रेड कर्नर नोटिस र श्रीलंकन दूतावासको कूटनीतिक नोट

अभियुक्त सबै विरुद्ध श्रीलंकन प्रहरीको अनुरोधमा इन्टरपोलले ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको पाइएको छ। सन्जीवाको हत्या प्रकरणको अनुसन्धानका क्रममा श्रीलंकन प्रहरीले ४० जनाविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। जसमध्ये १८ जनालाई श्रीलंका फिर्ता गरिसकेको थियो।

सिउवान्डीसहित केही आरोपी नेपाल घुसेको थाहा पाएपछि श्रीलंकन प्रहरीले विशेष अपरेसन चलाएर सिआइडीका रूपमा केही प्रहरी अधिकारी नेपालमा खटाएको अन्तर्राष्ट्रिय सञ्चार संस्था ‘न्युजवायर’ले लेखेको छ।  

उक्त समाचारअनुसार श्रीलंकन प्रहरी निरीक्षक रोहन ओलुगाला र गिहान दे सिल्भाको नेतृत्वमा प्रहरी टोली नेपाल आएको थियो। उक्त टोलीले ६ जना भक्तपुरमा बसेको ठेगाना पत्ता लगाएपछि श्रीलंकन दूतावासमार्फत नेपाल प्रहरीको सहयोग मागेर पक्राउ गरिएको थियो।  

अध्यागमन विभागले श्रीलंकन दूतावासले कूटनीतिक नोट पठाएको पुष्टि गरेको छ। पक्राउ परेका व्यक्तिहरू अर्को अन्डरवर्ल्ड डन केहेलब्याडडारा पद्मा नजिकका सदस्यहरू रहेको बताइएको छ।  

उता फरार सिउवान्डीबारे सूचना दिनेलाई श्रीलंकन प्रहरीले १२ लाख श्रीलंकन रूपी पुरस्कारको घोषणा समेत गरेको बताइन्छ।  

प्रकाशित: २९ आश्विन २०८२ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App