२२ असार २०८३ सोमबार
image/svg+xml
समाज

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ। गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन्।

समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा अवस्थित बारपाकमा उच्च हावापानीका कारण धान खेती गर्ने चलन छैन। यहाँ खेतभन्दा पाखाबारी बढी भएकाले मौसमअनुसार कोदो, मकै, गहुँ, जौ र आलु खेती गरिन्छ।

बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेका अनुसार असार लागेसँगै माथिल्लो भेगका बारीमा कोदो रोप्न सुरु हुन्छ भने तल्लो भेगका बारीमा साउनको दोस्रो सातासम्म रोपाइँ जारी रहन्छ।

उनका अनुसार गाउँको दायाँ र बायाँ रहेका ठूला फाँटमा बाली चक्रअनुसार एक वर्ष कोदो र अर्को वर्ष मकै खेती गरिन्छ। एउटातर्फ कोदो लगाइएका बेला अर्कोतर्फ मकै खेती गरिने र अर्को वर्ष त्यसलाई उल्ट्याइने प्रचलन छ। ती बारीमा वर्षमा दुईवटा बाली मात्र उत्पादन हुने उनले बताए।

बारपाक गाउँका करिब एक हजार दुई सय घरधुरी वडा नं. १ र २ मा फैलिएर रहेका छन्। वडा नं. २ का अध्यक्ष पूर्ण गुरुङका अनुसार अधिकांश किसानले अझै पनि अर्मपर्मको परम्परा कायम राख्दै सामूहिक रूपमा कोदो रोप्ने गर्छन्। अहिले पनि केही स्थानमा ज्यालादारी श्रमिक प्रयोग गरिए पनि अधिकांश किसान परम्परागत अर्मपर्ममै निर्भर छन्।

कोदो रोपाइँसँगै गाउँमा विशेष लोकगीत पनि गुञ्जिने गरेको उनले बताए। खेतालाहरू गीत गाउँदै, नाच्दै उत्सवमय वातावरणमा कोदो रोप्ने परम्पराले बारपाकको सांस्कृतिक पहिचानलाई जीवन्त बनाइरहेको उनको भनाइ छ।

बारपाकमा हिउँदयाममा गहुँ र जौ तथा वर्षायाममा मकै र कोदो मुख्य बालीका रूपमा लगाइन्छ। वडाध्यक्ष घलेका अनुसार माघ-फागुनमा रोपिएको मकै साउन-भदौमा भित्र्याइन्छ। त्यसपछि असोजमा गहुँ र जौ रोपेर वैशाख–जेठमा भित्र्याइन्छ भने त्यसपछि पुनः कोदो रोपेर मङ्सिरमा भित्र्याउने गरिन्छ। यसरी बाली चक्र मिलाएर खेती गर्ने परम्परा यहाँ अझै कायम छ।

बारपाकमा उत्पादन हुने कोदो मुख्य रूपमा ढिँडो बनाउन प्रयोग गरिन्छ। साथै जाँड, रक्सी, रोटी तथा स्थानीय परिकार ‘आलुम’ बनाउन पनि यसको प्रयोग हुने वडाध्यक्ष गुरुङले बताए। पछिल्लो समय गाउँमा चामलको प्रयोग बढे पनि अधिकांश स्थानीयको मुख्य परिकार अझै पनि ढिँडो नै रहेको उनले बताए।

प्रकाशित: २२ असार २०८३ २२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App