अघिल्लो दिनको वर्षाले उदयपुरको पश्चिमी भेगको सिद्धिचरण लोकमार्ग ठाउँठाउँ भत्केर क्षतविक्षत भएको छ। आइतबार राति एकाध घण्टाको वर्षाले नै लोकमार्ग अन्तर्गत कटारी–बेतिनी–घुर्मी खण्डको सडक आधा दर्जन बढी ठाउँमा भत्केर क्षतविक्षत भएको हो।
सामान्य वर्षाले नै बिग्रने सडक निरन्तर सुचारु गर्नका लागि सडक योजना कार्यालयले आधा दर्जन सडक हेरालु कामदार राखेको छ। उनीहरूलाई नियमित रूपमा खटाइएन भने वर्षा हुने बित्तिकै सडक बिग्रेर अवरुद्ध हुने गरेको हेरालु कर्मचारी कुमार प्याकुरेल बताउँछन्।
विगत दुई दशकयता ज्यालादारीको रूपमा हेरालु काम गर्दै आएका प्याकुरेलका अनुसार सडक बिग्रेर कामै नलाग्ने अवस्थामा पुगेका कारण हल्का वर्षा हुने बित्तिकै बिग्रेर यातायात अवरुद्ध हुने गरेको छ। साँघुरो, घुम्ती र भिरालो उकालो ओरालो सडक भएकाले एक-डेढ घण्टा वर्षा भयो कि बिग्रेर सवारी आवागमन हुनै नसक्ने अवस्थामा पुग्ने गरेको अनुभव उनी सुनाउँछन्।
हिउँद याममा धुलो र सुख्खा पहिरो खस्ने भएकाले बिग्रिरहने सडक वर्षायाम भएपछि त धेरै समस्या आउने गरेको हेरालुहरू बताउँछन्। कहिलेकाहीँ दिनभर अथवा ४–५ घण्टा नै वर्षा भयो भने त सडकको चिनोबानो नरहने गरी बिग्रने गरेको उनीहरूको भनाइ छ। ‘दिनभर पानी पर्यो भने निरन्तर ५–६ घण्टा लामो मर्मत गर्नुपर्ने हुन्छ नत्र मोटरसाइकलसम्म चल्न नसक्ने अवस्थामा पुग्छ,’ प्याकुरेल अनुभव सुनाउँछन्, ‘हामी ६ जना कामदार छौँ, हाम्रो कामै सडक कहाँ-कहाँ भत्के बिग्रेको छ, खोजी-खोजी मर्मत गर्ने हो।’
सिराहाको मिर्चयादेखि उदयपुरको कटारी–बेतिनी हुँदै ओखलढुंगा सिमाना घुर्मी जोड्ने सिद्धिचरण लोकमार्गले कटारी नगरपालिका १, २, ३, ४, ८, १०, ११, १२, १३ हुँदै १४ नं. वडा घुर्मी बजार छोएको छ। कटारीदेखि घुर्मीसम्मको ४६ किलोमिटर दूरी सडक चट्टानी पहाड र उकाली ओराली भूगोलका कारण धेरे अप्ठेरो र बिग्रने भत्कने गरेको छ। पहाडी भूगोलकै कारण र वर्षौँदेखि स्तरोन्नति नभएकाले ठाउँठाउँमा पहिराले पुर्ने, भत्कने समस्या निरन्तर भइरहने गरेको छ।
तराईबाट कटारी बजार हुँदै ओखढुंगा, खोटाङ र सोलुखुम्बु माथिल्लो सगरमाथा जाने एक मात्र सोझो यातायातको सो सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने कामलाई प्राथमिकतामा सरकारले नराख्दा सहज बन्न नसकेको स्थानीयको बारम्बार गुनासो छ।
सुरुमा तत्कालीन शाही नेपाली सेनाको इन्जिनियरिङ गुल्मले निर्माण गरेर ०५८ सालदेखि सुचारु भएको कालोपत्रे सडक १० वर्ष नपुगी बिग्रेर कच्ची सरह भएको थियो। त्यसबेला प्रविधिको विकास नभइसकेकाले कुटो कोदालो र झम्पलको सहाराले खनिएको हुनाले साँघुरो र घुम्ती सडक न्यून गुणस्तरको कालोपत्रे गरिएको थियो।
कम गुणस्तरकै भएकाले धेरै भारीका ट्रक र टिप्पर चलाउँदा भत्के पनि समयमै आवश्यक मर्मत संभार नगर्दा कामै नलाग्ने गरी बिग्रेको स्थानीयको भनाइ छ। समयमै सडकको स्थायी मर्मत वा स्तरोन्नति नगर्ने हो भने नजिकिएको वर्षायाममा उपभोक्ताले निकै सास्ती भोग्नुपर्ने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहेका छन्।
सेनाले निर्माण गरेर सडक डिभिजन कार्यालय लहान सिरहालाई रेखदेख गर्ने जिम्मा दिइएको थियो। लहानबाट रेखदेख राम्रो नभएको भन्दै स्थानीयले चर्को गुनासो गरेपछि ०७८ सालदेखि कटारी बजारम ‘कटारी घुर्मी सडक योजना कार्यालय’ स्थापना गरेर रेखदेखको जिम्मा दिइएको छ।
योजना कार्यालयले आवश्यक बजेट अभावका कारण सडक स्तरोन्नति मर्मत गर्न नसकेर वर्षौँदेखि हालत खराब रहेको जनाएको छ। पटक-पटक सरकारले स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको खबर सुनाए पनि रकम निकासा नहुँदा बर्सेनि मर्मत संभार मात्र गर्नु परेको बताउँदै कार्यालयले दीगो र भरपर्दो बनाउन कालोपत्रेसहितको सडक स्तरोन्नति मात्र अन्तिम विकल्प रहेको जनाएको छ।
प्रकाशित: १५ वैशाख २०८३ १४:५२ मंगलबार





