जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। बिहीबार दायर भएको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ।
श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको थियो। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध तथा वैयक्तिक गोपनीयता हननसम्बन्धी जाहेरी परेको बताइएको छ। सोही जाहेरीका आधारमा पक्राउ गरिएका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले बिहीबार तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
श्रेष्ठ पक्राउ परेकै दिन प्रहरीले उनको निवास र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरी कम्प्युटरसहित विभिन्न विद्युतीय उपकरण नियन्त्रणमा लिएको थियो। बिहीबार पनि घरमा पुगेको प्रहरी टोलीले सीसीटीभी क्यामराका डिभाइस तथा स्टोरेज उपकरण लगेको बताइएको छ।
श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्।
प्रकाशित: २९ श्रावण २०८३ १०:५६ शुक्रबार



-600x400.jpg)

