वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद श्रेष्ठ “नन्दन”को निधन भएको छ। आइतबार राति ९ः२५ बजे ९० वर्षको उमेरमा उनको निधन भएको हो।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरीरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ। नारायणी कला मन्दिरका पूर्वअध्यक्ष सहनलाल प्रधानका अनुसार गीतकार नन्दन क्यान्सर रोगबाट पीडित थिए। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
उनले विभिन्न विधामा आफ्ना रचनाहरू प्रस्तुत गरेका छन्। उनले लेखेका गीतमा नातिकाजी लगायतले संगीत दिएका छन् भने विभिन्न चलचित्रका गीतमा पनि रचना छन्। कलाकार रिद्धिचरण श्रेष्ठका अनुसार नन्दन चितवनमा गजल दोहोरीका जन्मदाता थिए। उनका झट्कारो, अञ्जली, सपनीबाट ब्यूझेर, विपिनका पाइलाहरू, ऐनाभित्रको आकाश गीतिसंग्रहरू प्रकाशित छन्।
तनहुँको बन्दिपुरमा जन्मिएका नन्दन केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसाय गरेका थिए। सोही सिलसिलामा उनी २०१९ सालमा नारायणगढ बजार झरे। नारायणी कला मन्दिरमा नाटक अभिनय र लेखनमा उनी सक्रिय रहे। उनी छिन्नलता लगायत दर्जनौं पुरस्कार लगायतबाट सम्मानित भएका छन्। उनका श्रीमतीसंगै तीन छोरा र तीन छोरी छन्।
प्रकाशित: २ भाद्र २०८२ ०८:२९ सोमबार





