५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

भाइलाई २५ हजार पठाउँदै प्रकाश सपुतले भने- ‘जेन जीको आन्दोलनमा जानू, पानी किनेर बाँड्नू’

चर्चित गायक तथा सर्जक प्रकाश सपुतले सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध हुन लागेको जेन जी पुस्ताको आन्दोलनलाई आर्थिक सहयोगसहित ऐक्यबद्धता जनाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफ्ना दुई भाइलाई जनही २५ हजार रुपैयाँ पठाइदिएको र प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन्।

आफ्ना भाइहरू सुनिल र सचिनलाई सम्बोधन गर्दै सपुतले उनीहरूको उपस्थितिले नै धेरै कुरा बोल्ने बताए । ‘तिमीहरु केही बोल्नै पर्दैन। तिमीहरुको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ,’ उननले लेखेका छन्, ‘आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो।’

सपुतले आफ्नो पुस्ताले व्यवस्था परिवर्तनका लागि युद्ध र आन्दोलन गरे पनि नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेकोप्रति निराशा व्यक्त गरे। ‘हाम्रो पुस्ताले पनि जीवनमा थुप्रै आन्दोलन गर्‍यौँ, अझ भनौँ युद्ध नै भोग्यौँ। त्यो आन्दोलनको नेतृत्व गरेकाहरूलाई खत्रै मान्यौँ... तर उनीहरूले आफ्नो योगदानभन्दा बढी फाइदा लिइसके,’ उनले लेखेका छन्।

उनले भाइहरूको खातामा पठाइदिएको रकम गत महिना युट्युबबाट आएको कमाइ भएको उल्लेख गर्दै सामाजिक सञ्जाल बन्द भएपछि अब यस्तो आम्दानी आउँछ वा आउँदैन भन्नेमा अनिश्चितता व्यक्त गरे।

‘मैले तिमीहरूको खातामा २५/२५ हजार रुपैयाँ पठाइदिएको छु, जुन गत महिना युट्युबबाट कर काटेर आएको थियो। थाहा छैन अब आउँछ कि आउँदैन !’

उक्त पैसाले प्रदर्शनमा सहभागीहरूका लागि पानी किनेर बाँड्न र सबैलाई संयमित रहन आग्रह गर्नसमेत उनले भाइहरूलाई सुझाए। ‘भन्नू साथीहरूलाई- हाइड्रेटेड रहनु, संयमित रहनु, एकै पटकमा नथाक्नु,’ उनले भने, ‘किनकि यिनीहरूलाई बुझाउन र गलाउन तिमीहरू पटक-पटक सँगै उभिनुपर्नेछ।’

उनले प्रदर्शनमा जाँदा सुरक्षित रहन र साँझ घर फर्कन भाइहरूलाई आग्रह गर्दै आन्दोलनप्रति पूर्ण समर्थन जनाए।

प्रकाशित: २२ भाद्र २०८२ १८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App