गत भदौंमा भएको जेनजी आन्दोलनका क्रममा देशैभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतले प्रहरीमा उजुरी गर्ने भएको छ।
न्यायाधीशहरुको पूर्ण बैठकले गत आइतबार गरेको निर्णयअनुसार सर्वोच्चले प्रहरीमा जाहेरीको तयारी गरेको हो । उप–रजिस्ट्रार निराजन पाण्डेका अनुसार भोलि बुधबारसम्ममा उजुरी दर्ता हुनेछ । उनले भने, “उजुरी तयार गर्ने प्रक्रिया सुरु भइसकेको र काठमाडौं जिल्ला प्रहरी परिसरमा बुधबारसम्म दर्ता गरिनेछ।”
सर्वोच्च अदालतका एक अधिकारीका अनुसार, उजुरीमा कसैको नाम उल्लेख गरिने छैन। कसैको नाम नलिइकन अदालतले प्रहरीलाई जिम्मेवार व्यक्तिहरू पहिचान गरी कानुनी कारबाही गर्न माग गर्नेछ।
जेनजी आन्दोलनका क्रममा देशैभरका अधिकांश न्यायिक संरचनामा आगजनी र तोडफोड भएको थियो । तीन दिनसम्म लागेको आगोले सर्वोच्च अदालतमा रहेका करिब २० हजार चलिरहेको मुद्दा फाइल र १ लाख ९७ हजारभन्दा बढी फैसला फाइलहरू जलेर नष्ट भएका छन् ।
भवनभित्र न्यायाधीश र कर्मचारीहरूले प्रयोग गर्ने करिब ५० वटा सवारी साधन पूर्ण रूपमा जलेका छन्। १५० भन्दा बढी मोटरसाइकलहरू पनि जलेका छन्, जसमा वकिल र सेवाग्राहीहरूका सवारी समेत थिए।
सर्वोच्च बाहेक विशेष अदालत र काठमाडौं जिल्ला अदालतमा समेत ठूलो क्षति पुगेको छ, र अन्य जिल्लाहरूबाट पनि तोडफोड र आगलागीको तथ्यांक संकलन भइरहेको छ ।
प्रकाशित: ११ कार्तिक २०८२ १६:३९ मंगलबार





