राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्दैछ। विद्यार्थीहरूले ९ बजेदेखि आफ्नो नतिजा हेर्न सक्नेछन्।
बोर्डको बैठकले आजै नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गरेको हो।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यसपटकको एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो।
सोही कारण अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ।
यस वर्षको एसइई परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना परीक्षार्थी रहेका छन्।
तथ्याङ्क अनुसार परीक्षामा सहभागी हुने कुल विद्यार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य ७ जना रहेका छन्।
प्रकाशित: २८ वैशाख २०८३ १९:५८ सोमबार





