२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सशस्त्रका दुई महिला कर्मचारीले गरे सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

सहायक हवल्दार अनिता कार्किले मे १७ तारिख  आइतबार बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन्।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरुको यो पहिलो सफल आरोहण हो।

इलाम जिल्लाको सन्दकपुर गाँउपालीका माबु मा जन्म लिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएका डिएसपी शैलेन्द्र थापाले बताए।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरुले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्।

आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमशः शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए।

उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको डिएसपी थापाको भनाइ छ।

प्रकाशित: ३ जेष्ठ २०८३ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App