चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ। रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरूको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो। उनले भने, 'अहिले संवेदनशील क्षेत्रहरूमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ।' चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरूमा स्पाई क्यामेरा सहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरू गरिने उनले जानकारी दिए।
सूचना अधिकारी मगरका अनुसार विगतमा हुने गरेका नियमित गस्तीसहित स्विपिङ्, पट्रोलिङ्, साईकल गस्ती, मोटरसइकल गस्ती, बोट, गाडी र हात्तीबाट गस्ती गरिने छ। चाडपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी संवेदनशील मानिने गरिन्छ। संवेदनशील क्षेत्रहरूमा ‘लिङ्क पट्रोलिङ्’ लगायतका कामहरू भइरहेको छ। चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ।
निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोष्टहरूबाट सुरक्षा दिने काम भइरहेको छ। यसलाई अझै चुस्त बनाउँदै स्थानीय संगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ। शंकास्पद स्थानहरूमा तालिम प्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ। आवश्यकता अनुसार अन्य सुरक्षा निकायसँग समेत समन्वय गरेर निकुन्ज क्षेत्रमा रहेका बस्तीहरूमा समेत तदारुपता बढाइएको उनले जानकारी दिए।
प्रकाशित: २ कार्तिक २०८३ ०७:५१ सोमबार





