देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र बढ्दो सुरक्षा चुनौतीका विषयमा छलफल गर्न गृह मन्त्रालयमा बिहीबार सुरक्षा प्रमुखहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा मुख्यगरी चारवटा सुरक्षा चुनौतीमाथि केन्द्रित भएर छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए।
करिब दुई घण्टा चलेको बैठकमा गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुखहरूबाट पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका थिए।
छलफलका मुख्य चार विषय
काउन्टर जाहेरी र त्यसको असर: बैठकको मुख्य एजेन्डा हालै देखिएको ‘काउन्टर जाहेरी’ र त्यसले सिर्जना गर्न सक्ने तनाव रह्यो।
‘जेन-जी’ समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरीको प्रतिउत्तरमा एमालेनिकट अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाह र अभियन्ता सुदन गुरुङविरुद्ध जाहेरी दिएको थियो।
एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिने र माइतीघरमा एक समूहको ब्यानर हटाएर अर्कोले राख्ने प्रयासजस्ता गतिविधिले सुरक्षा चुनौती बढाएको निष्कर्ष निकालिएको छ।
जेन-जी लगायतका समूहको प्रदर्शन: बैठकमा ‘जेन-जी’ लगायतका विभिन्न समूहले बिहीबार माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा गर्न लागेको प्रदर्शन र त्यसले निम्त्याउन सक्ने सुरक्षा जोखिमबारे विस्तृत विश्लेषण गरिएको थियो।
शान्तिपूर्ण प्रदर्शनको आडमा हुन सक्ने सम्भावित झडपलाई रोक्न अपनाउनुपर्ने सतर्कताबारे छलफल भएको थियो।
नेताहरूका अभिव्यक्ति र आगामी आन्दोलन: पछिल्लो समय केही राजनीतिक दलका नेताहरूले दिइरहेका अभिव्यक्तिले सामाजिक सद्भाव खल्बल्याउन सक्ने र त्यसले सुरक्षामा पार्न सक्ने प्रभावबारे पनि बैठकमा समीक्षा भएको थियो।
साथै, छठ पर्वपछि दुर्गा प्रसाईं समूहले गर्ने घोषणा गरेको आन्दोलन र त्यसको तयारीबारे पनि छलफल भएको स्रोतले बतायो।
चुनावी सुरक्षा: निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा समग्र शान्ति सुरक्षाको अवस्था र आगामी दिनमा उत्पन्न हुन सक्ने सम्भावित चुनौतीबारे पनि छलफल भएको थियो।
बैठकपछि राजधानीको माइतीघर-बानेश्वर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
प्रकाशित: २३ आश्विन २०८२ १६:०० बिहीबार





