काठमाडौं महानगरपालिकाले यस वर्ष २० हजार दुई सय ८२ जना विद्यार्थीलाई दुई अर्ब २५ करोड रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । कानुन कार्यान्वयनमा आएको तेस्रो वर्षमा यो सफलता हात लागेको हो ।
कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार विद्यार्थीले र दोस्रो वर्षमा १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए । यस वर्ष कक्षा १ देखि कक्षा १० सम्मका १६ हजार नौ सय ८० र कक्षा ११ का तीन हजार तीन सय दुईजनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
काठमाडौं महानगरभित्र रहेका करिब ४४० वटा विद्यालयले मात्रै छात्रवृत्ति वितरणको विवरण बुझाएको महानगरले जनाएको छ । महानगरभित्र रहेका अन्य विद्यालयलाई छिटोभन्दा छिटो विवरण पेस गर्नसमेत अनुरोध गरिएको छ ।
तोकिएको समयमा विवरण पेस नगरे उक्त विद्यालयलाई ‘बन्द विद्यालय’ मानी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम दिइएको अनुमति वा स्वीकृति खारेज गर्ने गरी कारबाही गर्ने महानगरको चेतावनी छ ।
छात्रवृत्तिको विवरण बुझाएका विद्यालयहरूको अनुगमन गर्दा विवरणमा फरक पाए कानुनबमोजिम कारबाही गर्ने शिक्षा विभागले बताएको छ । काठमाडौं महानगरभित्र कक्षा ११ को छात्रवृत्ति केन्द्रीय प्रणालीबाट वितरण गरिएको थियो भने कक्षा १ देखि कक्षा १० सम्मको छात्रवृत्ति भने ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले वितरण गरेको विवरण महानगरलाई प्राप्त भएको जनाइएको छ ।
प्रकाशित: ७ आश्विन २०८२ ०९:१६ मंगलबार




