तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले २ रोपनी क्षेत्रमा सयपत्री फूल उत्पादन गरेकी छन्। गत वर्ष तिहारमा फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ।
उनले विगत ५ वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छन्। गत वर्षहरूमा तिहारमा फुल्ने सयपत्री फूल यस वर्ष चाँडै फुलेको उनले बताइन्। श्रेष्ठले २ रोपनी क्षेत्रमा सयपत्रीका ५ हजार बिरुवा रोपेकी छन्।
तिहारमा बजारको समस्या नहुने भए पनि अहिले फुलेको फूललाई तिहारसम्म संरक्षण गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताइन्। उनले भनिन्, ‘अघिल्लो वर्ष बजारको समस्या थिएन। तिहारका लागि बजारको समस्या हुँदैन। तिहारपछि भने बजारको समस्या हुन्छ।’
श्रेष्ठले तिहारका लागि मात्र नभई यसबेला गाउँघरमा हुने विभिन्न कार्यक्रमका लागि फूल बिक्री गरिरहेकी छिन्। विशेषगरी सहकारी संस्थाको साधारणसभाका लागि सयपत्रीको मालाको माग आउने गरेको उनको भनाइ छ।
उनका अनुसार एउटा फूलको थुङ्गा ५ रुपैयाँसम्म बिक्री हुन्छ। यो वर्ष पनि फूलको बारेमा सोधपुछ गर्ने क्रम बढेको उनले जानकारी दिइन्। फेसबुक, टिकटकमा फूलको भिडियो राखेपछि केही ठाउँमा सोधखोज बढेको श्रेष्ठले उल्लेख गरिन्। गत वर्षको तिहारमा मात्र श्रेष्ठले १ लाख रुपैयाँको सयपत्री फूल बिक्री गरेका थिइन्। उनले भनिन्, ‘यो वर्ष अलि छिटो फुलेका कारण के हुन्छ भन्न सकिएन।’
उनले मागअनुसार फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी हुन्। उनले भनिन्, ‘पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्त, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारमा फूलको धेरै माग हुन्छ।’
विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने श्रेष्ठले सयपत्री फूल विदेशबाट आउने थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन्। श्रेष्ठ भन्छिन्, ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास बढ्यो। नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्ने उद्देश्यले फूलखेती गरेको हुँ।’ रासस
प्रकाशित: ३१ आश्विन २०८२ ०६:५५ शुक्रबार





