३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

श्राद्ध गर्न जाँदा गोदावरी टापुमा फसेका ६ जनाको उद्धार

कैलालीको गोदावरी नदीमा श्राद्ध गर्न गएका ६ जनाको सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो।

मुसलधारे वर्षापछि नदीमा पानीको बहाव ह्वात्तै बढ्दा उनीहरू नदीको बीच टापुमै फसेका थिए।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरिक्षक लोक राज जोशीका अनुसार बुधबार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको टापुमा श्राद्ध गरिरहेका बेला अचानक भारी वर्षा भएको थियो।

वर्षाका कारण नदीको सतह बढेर टापु चारैतिरबाट घेरिएपछि उनीहरू फर्कन नसकी अड्किएका थिए। नदीमा मानिस फसेको जानकारी अस्थायी प्रहरी पोष्ट, गोदावरीमा प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी निरिक्षक जोशीले बताए।

उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली समेत खटिएको थियो।

उद्धार कार्यको अनुगमनका लागि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी बल नं. ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जित र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख उप-अनुसन्धान निर्देशक महेश बहादुर बोहरा घटनास्थल पुगेका थिए।

प्रहरी निरीक्षक जोशीका अनुसार उद्धार गरिएका सबै जना कञ्चनपुरका बासिन्दा हुन्।

उद्धार गरिएकाहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ बस्ने ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय वीर सार्की तथा बेदकोट नगरपालिका-७ बस्ने २८ वर्षीय अब्दुल सार्की रहेका छन्।

 उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ असार २०८२ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App