१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

उद्धार गरिएको ‘किङ कोब्रा’ गाडीभित्रै हराएपछि...

लमजुङको बेंसीशहर नगरपालिका–१, चिप्लेटीबाट उद्धार गरिएको ‘किङ कोब्रा’ सर्प वन कार्यालयकै गाडीबाट हराएपछि कर्मचारी र स्थानीय बासिन्दा त्रसित बनेका छन्। सफल उद्धारपछि सुरक्षित स्थानमा छोड्न लैजाने क्रममा सर्प गाडीको इन्जिनभित्र पसेर बेपत्ता भएको हो।

स्थानीयले बिहानैदेखि पटक-पटक फोन गरेर सर्प देखिएको जानकारी दिएपछि डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो।

डिभिजन वन कार्यालय, लमजुङका सूचना अधिकारी सन्तोष खनालका अनुसार, कार्यालयमा स्रोतसाधन र तालिमप्राप्त जनशक्तिको अभावका बिच उद्धार कार्य गरिएको थियो।

‘बिहान ४ पटक फोन आएको थियो। कार्यालयमा साधन छैन, डीएफओ (डिभिजनल वन अधिकृत) ज्यू सिडिओ कार्यालयको बैठकमा जानुभएको थियो। त्यही बीचमा मैले दौडेर गएर टोली पठाएको हुँ,’ सूचना अधिकारी खनालले भने, ‘हामीसँग तालिमप्राप्त मान्छे कोही छैन, तर नागरिकले खबर गरेपछि जानैपर्‍यो।’

टोलीले सर्पको उद्धार गरी सुरक्षित रूपमा गाडीमा राखेको थियो। तर, सुरक्षित वासस्थानमा छोड्न लैजाँदै गर्दा सर्प फुत्किएर गाडीको अगाडिपट्टि रहेको इन्जिन भएको भागमा छिरेको थियो।

‘उद्धार गरेर गाडीमा राख्यौँ, तर त्यो फुत्किएर गाडीको इन्जिनतिर पस्यो। तातो ठाउँ भएकाले केहीबेर त्यहीँ बस्यो,’ खनालले भने, ‘एकैछिनपछि हेर्दा त्यहाँ देखिएन। त्यो गाडीभित्रै कतै लुकेको छ वा आँखा छलेर बाहिर निस्कियो, यकिन हुन सकेको छैन। अहिले हामी आफैँ त्रासमा छौँ। यहीँ गाडीमै छ कि भन्ने डर भयो नि त।’

सर्प गाडीभित्रै छ वा बाहिर निस्किसक्यो भन्ने निश्चित नहुँदा अनिश्चितता र त्रास बढेको छ। वन कार्यालयका कर्मचारीहरूले बत्ती बालेर गाडीको सम्भावित ठाउँहरूमा खोजी गरिरहेका छन्।

सूचना अधिकारी खनालले भने, ‘ठ्याक्कै गएको पनि कसैले देखेको छैन, गाडीभित्र छ भन्ने पनि अहिले हेर्दा देखिन्न। अवस्था एकदमै अनिश्चित भयो।’

उनले यस्ता घटनामा सामाजिक सञ्जालमा छिटो प्रचार हुने तर उद्धारका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको अभावबारे कसैले नबुझ्ने गरेको गुनासो गरे।

‘कहीँ घरमा सर्प भेटिए पनि वन कार्यालयलाई नै फोन आउँछ, तर हामीसँग न विज्ञ छन्, न पर्याप्त साधन। यो निकै जोखिमपूर्ण काम हो,’ उनले थपे।

प्रकाशित: ५ श्रावण २०८२ २१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App