८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाने बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

भारतको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी विद्यालयमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले डडेल्धुराको आलिताल गाउँपालिका वडा नं-५, पर्सेरावलस्थित श्री भगवती प्राथमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

बोहराले बालविकास सहजकर्ता पदमा नियुक्ति लिने क्रममा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा बोहराले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्‌बाट सन् २०१० मा हाई स्कुल परीक्षा पास गरेको भन्दै झुटा कागजात पेस गरेको खुलेको छ।

उनले पेस गरेको मार्कसिट, सर्टिफिकेट र माइग्रेसन प्रमाणपत्र सबै नक्कली बनाएर पेस गरेको आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवक बालविकास सहजकर्ताको पदमा नियुक्ति लिई बहाल रहेर उनले पारिश्रमिक तथा भत्तालगायतका सरकारी लाभ र सुविधा प्राप्त गर्दै आएकी थिइन्।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, मन्जु देवी बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिएको छ।

सोही कसुरमा उनलाई ऐनको दफा १६ को उपदफा (१) बमोजिम नै कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज (भदौ ८ गते) अदालतमा मुद्दा दर्ता गरिएको हो।

प्रकाशित: ८ भाद्र २०८३ १८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App