२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

अपागंता भएका नागरिकलाई गाउँपालिकाको सहायक सामग्री

खोटाङको साकेला गाउँपालिकाका अपागंता भएका नागरिकले सहायक सामग्री पाएका छन्। अपागंता भएकालाई हिँडडुल तथा अन्य दैनिक क्रियाकलापमा सहज बनाउन गाउँपालिकाले सहायक सामग्री वितरण गरेको हो।  

गाउँपालिकाले सञ्चालन गरेको ‘अपागंता रोकथाम र पुनस्थापना कार्यक्रम’अन्तर्गत बिहीबार सामग्री वितरण गरेको हो। गाउँपालिका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले वडा नम्बर २ रतन्छाका १० जना अपागंता भएका नागरिकलाई सामग्री वितरण गरे। वडा कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष र उपाध्यक्षले छडी (लौरो), श्रवणयन्त्र (कान सुन्ने उपकरण) र हिँडडुल गर्न प्रयोग हुने कुइनो (वैशाखी) प्रदान गरे।  

गाउँपालिकावासीको सहजताका लागि स्थानीय सरकारले विभिन्न गतिविधि गर्दै आएको छ। गाउँपालिका अपागंता पुनस्थापना कार्यक्रम संयोजक रुपा श्रेष्ठका अनुसार साकेलामा ०८० माघ १ गतेदेखि अपागंता रोकथाम र पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ। आगामी ०८३ पुस मसान्तसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउन्डेसन र गाउँपालिकाको त्रिपक्षीय साझेदारी रहेको श्रेष्ठले बताइन्।  

सामग्री वितरण गर्दै अध्यक्ष राईले यो कार्यक्रमले गाउँपालिकाभित्रका अपागंता भएका नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरे। नागरिकलाई परेको समस्याप्रति साकेला सरकार पूर्णरूपमा संवेदनशील रहेको बताउँदै राईले जनतालाई आइपर्ने हरेक समस्या समाधान गर्न आफू तयार रहेको बताए।  

‘गाउँपालिकावासीको कुनै पनि समस्याको समाधानका लागि स्थानीय सरकारले कुनै कसर बाँकी राख्दैन,’ राईले भने, ‘यही सिलसिलामा अपागंता भएका नागरिकको सहजताका लागि सक्ने र हुने सबै खालको सहयोग स्थानीय सरकारले गर्छ।’ अपागंता भएका व्यक्ति र उनको परिवारलाई केन्द्रित गरेर थप कार्यक्रम पनि विस्तार गर्ने प्रतिबद्धता राईले व्यक्त गरे।  

अपागंता रोकथाम र पुनस्थापना कार्यक्रमअन्तर्गत सङ्कलित विवरणअनुसार गाउँपालिकाभित्र ३२५ जना अपागंता भएका नागरिक छन्। तर, हाल सीमित स्रोतका कारण वडा नम्बर २ का १० जनालाई मात्र सामग्री वितरण गरिएको छ। पहिचान भएका अन्य वडाका अपागंता भएका नागरिकलाई पनि क्रमशः सहायक सामग्री वितरण गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताइन्।

प्रकाशित: १६ श्रावण २०८२ २०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App