कुनै समय थियो रोल्पा र रोल्पालीसँग आम नागरिक तर्सिन्थे अर्थात् रोल्पाको पहिचान फरक थियो। २०५२ फाल्गुन १ देखि २०६३ मंसिर ५ सम्मको १० वर्ष रोल्पा विद्रोहको पर्याय जस्तै थियो।
क्रान्तिका नाममा ‘राता मान्छे’ रोल्पालीको पहिचान थियो। धेरै सम्म पहुँच भएको एक मात्र सञ्चार माध्यम रेडियो नेपालमा बज्ने समाचारमा रोल्पामा भएका हत्याका खबरहरू सुनिन्थे। त्यसको कारण हो धेरै नेपालीका मनमा आज पनि रोल्पालीहरु विद्रोही नै छन् भन्ने भ्रम छ।
समय फेरियो। आज रोल्पा शान्तिको बाटोमा छ। माया, प्रेम, मित्रता र सद्भाव बोकेर बसेको छ। शान्ति सम्झौता पछि आजसम्म रोल्पामा विगतको द्धन्द्धलाई लिएर सानो मनमुटाब सम्म छैन। छिमेकमा आत्मीयता छ, अैचोपैचो पहिलेकै गतिमा छ।
गाउँ टोललाई सञ्चार र सडक सञ्जालले मस्त सँग जोडेको छ। एक नगरपालिका सहित १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पाका सबै वडामा सार्वजनिक यातायातले सहजता थपेको छ।
२०५२ फागुन १ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) ले पश्चिम रोल्पामा रहेको होलेरी प्रहरी चौकी आक्रमण गरी युद्ध सुरु गरेपछि अशान्त बनेको रोल्पाले धेरै प्रताडना भोग्यो।
सरकारी निकायलाई थेप्चा नाक, विपन्न जस्ता देखिने मंगोलियन अनुहार देख्यो कि माओवादी कित्तामा जबरजस्त उभ्याइन्थ्यो। लामा नाक, जनै लगाएका अलि हुनेखाने जस्ता भए माओवादीबाट सामन्तवादीको बिल्ला भिराइन्थ्यो। यसरी १० वर्ष चलेको द्वन्द्वले रोल्पा र रोल्पालीलाई दिनु सम्मको दुःख दियो।
शिक्षा र मानवीय विकासमा कमजोर रोल्पा जनस्वास्थ्य सुधारका हिसाबले भने अग्रस्थानमा छ। जिल्ला अस्पतालमा आवश्यकता अनुसारका चिकित्सक र सुविधा सम्पन्न उपचार नभए पनि वडाहरूमा रहेका बर्थिङ सेन्टर, गाउँका स्वास्थ्य चौकीमा स्तरअनुसारको सेवा गतिलै छ। विगतदेखि हालसम्म शिक्षा सुधारमा भने कोही कसैले चासो दिएको पाइँदैन।
जिल्लाको शैक्षिक अवस्था चाहिँ सबै भन्दा बिजोग छ। यहाँ कसैलाई नि शैक्षिक सुधारमा अलिकति पनि चासो भएको पाइँदैन।
केही समयअघि सदरमुकाममा सीमित रौनक र रमझम सङ्घीयतासँगै गाउँतिर प्रवेश गरेको छ। गाउँघरमा सिंहविनाका सिंहदरबार ठडिएका छन्। सरकारी सेवाका साथमा वरपर पसल, होटलहरू खुलेसँगै पालिका केन्द्रहरूमा स्थानीयको आउजाउ र चहलपहल बेग्लै छ भने वडा वडामा पनि रौनक थपिएको छ। धेरै गाउँहरूमा अकल्पनीय व्यस्तता छ।
दुई दशकअघि युद्धको तापबाट निस्केको यही रोल्पामा यति बेला माया प्रेम र मित्रताको प्रतीक गुलाफको चर्चा सुरु भएको छ। सदरमुकाम समेत रहेको रोल्पा नगरपालिकाले लिवाङ बजारलाई गुलाफको सहर बनाउने योजना सुरु गरेको छ।
१९ औ नगरसभाले निर्णय नै गरेर गुलाफको सहरका रूपमा रोल्पा नगरपालिकालाई पहिचान हुने गरी कार्यान्वयनमा जाने निर्णय गरेको छ। निर्णयसँगै सदरमुकाम वरपर गुलाफ रोप्न भ्याईनभ्याई छ। सरकारी तथा गैरसरकारी कार्यालय, टोल सुधार समिति, आमा समूहलगायत स्थानीयलाई गुलाफ सिटी बनाउने भन्दै गुलाफ रोप्न अनुरोध गरिएको छ।
एक दशक बढी युद्धको किल्ला रहेको रोल्पामा माया, प्रेम र मित्रताको प्रतिकका रूपमा रहने गुलाफको सौन्दर्य सँगै यहाँको भावना पनि देखाउने छ।
‘रोल्पा नगरपालिकाको परिचय र पर्यटक आकर्षण गर्नका लागियो अभियान थालेका हौ।’ रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले नागरिक सँग कुरा गर्दै भने,‘सदरमुकाम पेरिफेरीलाई हिमालयन ट्रान्जिट बनाउने योजना छ। गुलाफ सिटी निर्माण गर्न प्रत्येक घरका गमलामा, सडक छेउमा, खालि स्थानमा र सरकारी तथा गैरसरकारी निकायले आफ्नो एरियामा गुलाफ फुलाउनु हुनेछ। यसले सुन्दरता मात्र हैन पर्यटकलाई आकर्षित पनि बनाउने छ।’
‘पर्यटकीय हिसाबले आफ्नो अलग पहिचान दिनका लागि यो अभियान सुरु गरिएको हो। प्रदेश सरकारसँग सहकार्य गरेर भालुवाङ देखिलिवाङ, थवाङ हुँदै रुकुमकोट सम्मको यात्रालाई पर्यटकीय पदमार्ग बनाउँदै छौ।’ रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले भने ‘यसो हुँदा पर्यटकहरू लिवाङ एकरात स्टे गर्छन्। यहाँ आएपछि देखाउने सुन्दरता गुलाफ हुनेछ । विशुद्ध सुन्दरताका लागि हो।’
पूर्वमेयर समेत रहेका सनस्टार युवा क्लबका अध्यक्ष पुर्ण केसीको नेतृत्वमा सदरमुकाम भित्र बिहीबार करिब २ सय गुलाफ रोपिएको छ। ‘नगरपालिकाको पर्यटकीय कोरिडोर बनाउने योजनाअनुसार गुलाफ सहरको शुभारम्भ गरेका हौ ।’नगर उपप्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे लगायत स्थानीयको सहभागिता करिब २ सय जति गुलाफ रोपिएको हो ।
युद्धका क्रममा ६ सय ६९ जना मारिएको रोल्पामा ३३ जना बेपत्ताको सूचिमा छन् भने घाइते अपाङ्गको तथ्यांक गनिनसक्नुको छ । एकल महिला, टुहुराको संख्या उस्तै छ भने गम्भीर प्रकृतिको यौनजन्य हिंसा खेपेकाहरू आज पनि मानसिक समस्या बोकेर बसिरहेका छन्। यी सबै पीडाका बिच मान्याय र परिपूरणको पर्खाइमा रहेका धेरै रोल्पालीलाई गुलाफको सौन्दर्यले थोरै भए पनि शीतलता प्रदान गर्नेछ।
प्रकाशित: २१ श्रावण २०८३ १६:१८ बिहीबार





