२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

रोल्पा : उद्धारका लागि गएको टोली पहिरोमा फसेपछि...

तस्बिर: पहिरोमा फसेको सुरक्षा निकायको टोली।

बुधबार राति रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरो गएको खबर पाए संगै बिहीबार बिहान ४ बजे उद्धार टोली लिएर घटनास्थल पुगेको सुरक्षाकर्मीको टोली सदरमुकाम फर्कँदा आफैँ अर्को पहिरोमा फसेको छ।

सुनछहरी गाउँपालिका १ जैमाजा सिरक्याङ भिरको नजिकै रहेको सोनारे बस्तीमा पुगेका उनीहरू सदरमुकाम फर्किने सडकमा पहिरो खसेका कारण अलपत्र परेका हुन्।

१० जनाको मृत्यु, ३ जना बेपत्ता, २ जना घाइते भएको उक्त घटना उद्धार गरेर फर्कने क्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी भुपेन्द्रबहादुर खत्री, नेपाली सेनाका कर्णेल दिपेश खड्का, रोल्पा प्रहरी प्रमुख पंचकुमार बाखु, सशस्त्र डिएसपी कालिप्रसाद चौधरीसहितको उद्धार टोली रातभर सडकमै अलपत्र परेको हो।

सुरक्षाकर्मीको टोली संगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, थबाङ गाउँपालिका अध्यक्ष सबिन बुढा मगर, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, नेपाल रेडक्रस सोसाइटीको टिमलगायत करिब १ सय जना उद्धार टोली रातभर गाडीमा बसेको थियो।

‘दिनभरको भोक। सबै थाकेका। यहाँ आउँदा पहिरो गएको स्थान नेर एउटा मात्र घर थियो,’ सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले नागरिकसँग कुरा गर्दै भने, ‘उक्त घरमा ४ पाथि गहुँ रैछ त्यही किनेर भुट्यौँ अनि करिब १ सय जनाले एक-एक मुठि बाँडेर खायौँ। पहिरोको त्रासमा रातभर गाडीमा बसेर उज्यालो बनायौँ।’

छिमेकी पालिका थबाङको कोटलबारामा पहिरो पीडितको उद्धारका लागि गएका धनबहादुर यति बेला अर्को समस्यामा परेका छन्। बिहीबार रातिको अविरल बर्षातपछि आएको पहिरोले आफ्नो गाउँपालिकाको गाममा गएको पहिरोले ४ जनाको पुरेको खबर पाएसंगै आत्तिएका छन्। ‘गाममा पहिरोले ४ जना पुरेको खबर आछ तर १२ नबज्दै यो पहिरो खुल्दैन। त्यहाँ पुग्न गाडीमा ४/५ घण्टा हिँडेर अरू पैदल ३ घण्टा जति लाग्छ।’

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले आफूहरू पैदल अगाडि बढेको बताए। ‘गाडी उतै छोडेर पैदल हिँडेका छौँ। ५ घण्टा भो हिँडेको,’ क्षेत्रीले भने, ‘गाममा फेरि पहिरोले ४ जना पुरिएको खबर आएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाको अर्को टोली मुभ भएको छ।’

उनका अनुसार पूर्वी रोल्पाका धेरै गाउँ यति बेला पहिरोको जोखिममा छन्।

प्रकाशित: २९ श्रावण २०८३ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App