राजमार्गको यात्रा सहज बन्दै जाँदा सवारी दूर्घटनाको दर पनि डरलाग्दो रुपमा बढिरहेको भन्दै प्रहरीले चिन्ता जनाएको छ। दुर्घटना बढेसँगै मानवीय क्षति पनि बढिरहेको प्रहरीको भनाई छ। गण्डकी प्रदेशमा सवारी दुर्घटनाबाट हरेक महिना १५ देखि १७ जनाको ज्यान जाने गरेको ट्राफिक प्रहरीको भनाई छ। कुनै महिना त त्यो आकार अझै बढि पनि हुने गरेको छ। हरेक दुईदिनको अन्तरमा कम्तिमा एकजनाको ज्यान गएको तथ्यांक रहेको प्रहरीले बताएको छ।
गण्डकी प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एसपी दानबहादुर थापा भन्छन्, ‘सामान्यतया गण्डकी प्रदेशमा सवारी दुर्घटनाबाट हरेक महिना १५ देखि १७ जनाको ज्यान जान्छ। दुईदिनको अन्तरमा कम्तिमा एकजनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ।’ उनका अनुसार पछिल्लो पाँचवर्षदेखि यो संख्या एकैनासको छ। तर, अबका दिनमा यो संख्या अझ बढ्ने जोखिम रहेको उनले बताए।
अहिले पोखरा–मुग्लिन राजमार्ग स्तरोन्नतीको अन्तिम चरणमा छ। त्यस्तै नारायणगढ–बुटवल खण्ड पनि सकिने क्रममा छ। पोखरा–मुग्लिन र नारायणगढ–बुटवल खण्ड सहज भएको खण्डमा सवारी दुर्घटनाको जोखिम झनै बढ्ने सम्भावना रहेको उनले बताए। ‘राजमार्ग सहज भएसँगै तीब्रगतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढाएको हो,’ उनले भने, ‘राजमार्ग सहज बनेसँगै दुर्घटनाको दर बढिरहेको छ। ग्रामीण क्षेत्रमा चल्ने सवारीको हेलचेक्रयाँइ उस्तै छ। सबै ठाउँमा ट्राफिक प्रहरीको पहुँच पनि छैन। चालकको लापरवाही घटेको छैन।’
गत चैत महिना मात्र गण्डकी प्रदेशमा ४४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर २४ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमध्ये १८ जना पुरुष, ४ जना महिला र २ जना बालक रहेको पनि प्रहरीको भनाई छ। प्रहरीका अनुसार ती दुर्घटनाबाट ५० जना घाईते भएका छन्।
चैत महिनामा भएका सवारी दुर्घटनाका कारणमध्ये ३४ वटा घटना सवारी चालकको कारणले भएको छ। ती दुर्घटनामा ५५ वटा सवारी साधन परेका थिए। तिब्रगतीमा सवारी चलाएकैले एकमहिनामा २१ वटा दुर्घटना भएको उनले बताए। दुर्घटनाका अरु कारणमा मादकपदार्थ सेवन गरेर सवारी चलाएको, चालकको असक्षमता लगायतका कारण पनि रहेको उनले बताए। सवारी साधनको कारणले एउटा, यात्रुले जथाभावि हिडडुल गर्दा र हतारमा बाटो काट्दा ४ वटा दुर्घटना भएका छन्। त्यसैगरि सडक अवस्थाका कारण पाँचवटा दुर्घटना भएको पनि उनले बताए।
तीब्रगति, चालकको लापरवाही, लागुपदार्थ र मादकपदार्थ सेवन लगायतका कारण पछिल्लो समय दुर्घटनाको दर बढिरहेको पनि थापाले जानकारी दिए। ‘राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको दरले सवारी गुडाउन पाइन्छ। तर, यहाँ त्यो दर दोब्बर हुने गरेको छ। त्यसले गर्दा दुर्घटनाको जोखिम बढिरहेको छ। ग्रामीण क्षेत्रमा चल्ने सवारीले क्षमताभन्दा बढि यात्रु बोक्ले गर्दा पनि जोखिम उत्तिकै छ,’ उनले भने, ‘सवारी दुर्घटना बढ्नुमा सबैतिर एकैखालको कारण होईन। सबैतिर फरक फरक कारण छन्। तर, तिब्रगति र चालकको लापरवाही सबैभन्दा डरलाग्दो समस्या बनेको छ।’
पछिल्लो समय बढिरहेको सवारी दुर्घटनाको समस्या संवेदनशील रहेपनि सम्बन्धित सबै सरोकारवालाले त्यो संवेदनशीलतालाई बुझ्न नसकेको उनले बताए। ‘जनमानसमा सचेतना जगाउनेदेखि ट्राफिक नियम नमान्नेलाई कानुनी कारवाही गर्र्ने, चालकको लापरवाहीलाई नियमन गर्ने लगायतका काममा सक्रिय छौ। तर, हाम्रो प्रयासले मात्र सवारी दुर्घटना कमजोर हुन सक्दैन,’ उनले भने, ‘राजमार्ग सहज र सुरक्षित बनेका छन। तर, सवारीको गति नियन्त्रणमा ध्यान नगएकै हो।’
थापका अनुसार प्रदेशको मात्र नभई नेपालमा सवारी दुर्घटनाबाट दैनिक रुपमा २२ देखि २५ जनाको ज्यान जाने गरेको छ। देशैभरि राजमार्ग सुधार हुँदै गर्दा आगामि दिनमा दुर्घटनाको न्यूनीकरणमा अझै ध्यान दिनुपर्ने उनको भनाई छ।
प्रकाशित: ७ वैशाख २०८३ १७:५६ सोमबार





