यस वर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ। धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो।
पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए। उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ।
स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष आठ हजार किलो बीउ वितरण गरिएको बताए।
कृषि विकास शाखा प्रमुख कडरियाका अनुसार पोखराका पामे, बिरौटा, कुडहर, अर्मला, आर्वाका साथै लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडालगायत स्थानका फाँटमा धान उत्पादन प्रशस्त हुने गरेको छ।
'पोखरा क्षेत्रमा मनसुलीसहित अन्य नयाँ उन्नत जातका धान पाक्न थालेका छन्। कतिपय कृषकले काट्न थालिसकेका छन्,' उनले भने, 'स्थानीय जातका जेठोबूढोलगायत धान पाक्न अलि ढिलो हुन्छ।'
प्रकाशित: २६ आश्विन २०८२ १४:१५ आइतबार





