१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

फर्कँदै गरेका चिनियाँ राजदूत छन सोङ भन्छन् : म नेपालको जीवनभरको मित्र बनेको छु

अमेरिकी राजदूत थम्पसन पनि फर्कने तयारीमा

मुलुकमा गत भदौमा भएको जेनजी आन्दोलनको राप र ताप अन्तर्राष्ट्रिय जगत्मा पनि परेको महसुस हुँदै छ। यसलगत्तै केही प्रमुख मुलुकका कूटनीतिज्ञहरू फर्कने क्रमलाई यहाँको राजनीतिसँग पनि जोडेर हेरिँदै छ।

तीन वर्षको कार्यकाल सम्पन्न गरेका नेपालका लागि चिनियाँ राजदूत छन सोङ स्वदेश फर्कने तयारीमा छन्। चीनका प्रभावशाली यी पदाधिकारीले थप एक वर्ष सेवा गर्ने चर्चा भइरहेका बेला पहिल्यै फर्कन लागेको बुझिएको छ।

चिनियाँ दूतावासमा आइतबार आयोजित आफ्नो बिदाइ समारोहलाई सम्बोधन गर्दै राजदूत सोङले जीवनभरका लागि आफू नेपाली जनताको मित्र बनेको बताएका छन्।

‘नेपाल आउनुअघि म चीन–नेपाल मित्रताको समर्थक थिएँ। तीन वर्षपछि म गर्वका साथ भन्न सक्छु कि म नेपाली र चिनियाँ जनताको जीवनभरि मित्र बनेको छु’, उनले भने। राजदूत सोङले नेपालमा बिताएका समय आनन्ददायी रहेको र बसाइका क्रममा नेपाल र नेपालीसँग गहिरो सम्बन्ध विकास भएको बताए।

नेपालका विभिन्न स्थानको भ्रमणको सम्झना गर्दै उनले नेपालका शान्त गाउँ र मन्दिरहरूले आफूलाई गहिरो छाप छाडेको बताए। उनले भने, ‘नेपालको प्राकृतिक सुन्दरतासँगसँगै यहाँका जनताको न्यानोपन, दयालुपन, मेहनत र प्रोत्साहन मैले सबैभन्दा बढी सम्झने छु। मैले यहाँका सुन्दर दृश्य मात्र होइन, यी दृश्यलाई झन् विशेष बनाउने सर्वसाधारणलाई पनि झन् धेरै सम्झने छु।’

दुई देशबिचको सम्बन्धमा हासिल भएको प्रगतिलाई जोड दिँदै राजदूत सोङले भने, ‘भविष्यमा जहाँ भए पनि म चीन–नेपाल सम्बन्धलाई अघि बढाउन प्रतिबद्ध रहने छु। हामी दुई देशबिच हासिल हरेक प्रगतिप्रति उत्साहित छौं।’

उनले शिक्षा, खेलकुदलगायतका क्षेत्रमा सहयोग जारी राख्ने र द्विपक्षीय सम्बन्धमा आएका चुनौती समाधान गर्न मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालमा रहेका कूटनीतिक समुदायप्रति पनि धन्यवाद व्यक्त गर्दै उनले यो मित्रताले उनको बसाइ ‘अझ समृद्ध र आनन्ददायी’ भएको बताए।

नेपालमा रहेका चिनियाँ समुदायप्रति विशेष कृतज्ञता व्यक्त गर्दै राजदूत सोङले उनीहरू आफ्ना लागि परिवारजस्तै रहेका र उनीहरूका हृदयमा सधैं विशेष स्थान राख्ने बताए।

नेपाली जनतालाई शान्ति, विकास र समृद्धिको कामना गर्दै राजदूत सोङले चीन–नेपाल मित्रता सधैं कायम रहने छ भन्ने आशा व्यक्त गरे। आगामी बुधवार नेपाल छाड्ने तयारीमा रहेका उनले समारोहमा उपस्थित सबैलाई नयाँ वर्षको अग्रिम शुभकामना पनि दिएका छन्।

यसैबिच संयुक्त राज्य अमेरिकाले पनि काठमाडौंस्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय कूटनीतिक रणनीतिलाई पुनः आकार दिने चाहनाअनुरूप नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनलाई पनि फिर्ता बोलाएको हो। अन्य राष्ट्रबाट समेत फिर्ता बोलाइएका २९ जना करियर कूटनीतिज्ञमध्ये थम्पसन पनि एक रहेका छन्।

एसोसिएटेड प्रेस (एपी) को रिपोर्टअनुसार थम्पसनलगायत यी राजदूतको कार्यकाल आगामी जनवरीमा समाप्त गरिने तयारी छ। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ को प्राथमिकतासँगै वरिष्ठ कूटनीतिक अधिकारीलाई समन्वय गराउने उद्देश्य लिएको व्यापक समीक्षात्मक अभियानअन्तर्गत आएको बताइएको छ।

गत साता कम्तीमा २९ देशका मिसन प्रमुखहरूलाई यसबारे जानकारी दिइएको थियो। दुई जना अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले नाम नखुलाउने सर्तमा उक्त जानकारी दिएको एपीले उल्लेख गरेको छ।

नेपालका लागि अमेरिकी राजदूत थम्पसनले २१ अक्टोबर २०२२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ८ पुस २०८२ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App