काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ।
काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोलले आज विधिपूर्वक पूजा गरी उक्त मूर्ति पुनःस्थापना गरेकी हुन्।
छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुनःस्थापना गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए। उनले भने, 'संरक्षणको अभावमा मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो। आज हामीले मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेका छौँ।'
काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा बाजागाजा र बग्गीसहितको र्यालीले आज मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेको छ।
छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको उक्त चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको र पछि उक्त मूर्ति धोबीखोलामा भेट्टाइएको थियो।
उक्त मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको वडाध्यक्ष सङ्गतले बताए। विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको उक्त मन्दिरलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनःनिर्माणका लागि शिलान्यास गरेका थिए। ब्रह्मा मन्दिर इँट्टा माटो र काठबाट निर्मित मन्दिर दुई तलाको प्यागोडा शैलीमा निर्माण गरिएको छ। रासस
प्रकाशित: १७ कार्तिक २०८२ १२:२३ सोमबार





