२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

लालबकैया नदीले बाँध कटान गर्न थालेपछि आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

रौतहटको राजपुर नगरपालिकाको पिपरा भगवानपुर क्षेत्रमा लालबकैया नदीले बाँध कटान गर्न थालेपछि आसपासका बस्तीमा त्रास बढेको छ।

नदीमा अचानक बाढी आएर पानीको बहाव बढेसँगै बाँध कटान तीव्र हुन थालेपछि स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

गौर नगरपालिकाका मेयर शम्भु साहले पिपरा भगवानपुरमा लालबकैया नदीले बाँध कटान सुरु गरेको जानकारी दिँदै आसपासका बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्।

मेयर साहले ‘पिपरा भगवानपुर लगायत आसपासका बस्तीका बासिन्दाले उच्च सावधानी अपनाउन’ आग्रह गर्दै विपद्को जोखिमबाट जोगिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको बताएका छन्।

मेयर साहका अनुसार बाँध कटानको अवस्थाबारे रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई समेत जानकारी गराएको बताए।

कटान नियन्त्रणका लागि सदरमुकाम गौरबाट प्राविधिक तथा सुरक्षाकर्मीसहितको टोली पठाउने तयारी भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

बकैया नदीमा आएको बाढीले बाँध कटान गर्दै गएमा सदरमुकाम गौरसहित आसपासका बस्ती तथा खेतीयोग्य जमिनमा बाढी पस्ने जोखिम बढेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई नदी तथा कटान भइरहेको क्षेत्र नजिक नजान र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: २५ श्रावण २०८३ १८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App