मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ। नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग आज सम्झौता नवीकरण गर्दै मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो।
सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार मध्यपुर थिमि नगरवासीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको भक्तपुर रक्तसञ्चार सेवाबाट निःशुल्क रूपमा रगत तथा रक्ततत्व प्राप्त गर्नेछ। रगतका लागि आवश्यक पर्ने दस्तुर रेडक्रसले नगरपालिकासँग सोधभर्ना मागेपछि नगरपालिकाले भुक्तानी दिने सम्झौतामा उल्लेख छ।
सम्झौताले नगरवासीले कुनै बेला आवश्यक परेको रगत रेडक्रसबाट सहज रूपमा उपलब्ध हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए। उनले बिरामीको जीवन बचाउन आवश्यक रगतसमेत शुल्क तिरेर लिनुपर्ने बाध्यता रहेकाले नगरवासीको सर्वसुलभ र निःशुल्क रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार रक्षाका लागि रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत वितरण गरेको बताए।
मध्यपुर थिमि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबीच पहिलो पटक २०७९ साउन ४ गते निःशुल्क रगत तथा रक्ततत्व प्रदान गर्नेबारे सम्झौता भएको हो। सोही सम्झौतालाई नगरपालिकाले निरन्तरता दिँदै आइरहेको छ।
मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सम्झौताको पहिलो वर्ष ७४७ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क वितरण गरेको थियो। सोको रु सात लाख ३२ हजार ९९८ रेडक्रसलाई भुक्तानी गरेको स्वास्थ्य शाखाप्रमुख श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३६१ जनाले निःशुल्क रगत तथा रक्ततत्व सेवा लिएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व लिएका थिए। रासस
प्रकाशित: २६ श्रावण २०८२ १३:५४ सोमबार




-600x400.jpg)
