महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबिबएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने सपना साकार पारे।
मधेसको अति विपन्न समुदाय (मुसहर) बाट सरकारी छात्रवृत्तिमा (मधेस दलित आरक्षित कोटा) एमबिबिएस पढ्ने अवसर पाउने २२ वर्षीय पवनदेव सम्भवतः यस समुदायका पहिला युवा हुन्।
कडा मिहिनेत र लगनशीलतासँगै उनले यो आँट जुटाउनुको मुख्य कारण थियो- आरक्षण। आरक्षणले उनले छुपडीबाट डाक्टर बन्ने सपना देखे र पूरा पनि भय । अति विपन्न आर्थिक अवस्थाका कारण उनीजस्ता युवा २०६४ अघिसम्म डाक्टर बन्ने सपना समेत देख्न सक्दैनथे।
पवनदेवको परिवार आर्थिक रूपमा निकै कमजोर छ। उनका ६० वर्षीय बुबा शिवनारायण माझी विगत १४ वर्षदेखि कतारमा मजदुरी गरिरहेका छन्। शिवनारायणले विदेशमा पसिना बगाएर कमाएको पैसाले जसोतसो घर चलेको छ। घर खर्चबाट बचत भएको पैसाबाट उनी आफ्नो पढाइ पुरा गरे। आरक्षणको व्यवस्थाले उनमा डाक्टर बन्ने सपना देख्ने अवसर जुराइदियो।
शिवनारायणको नाममा पाँच धुरमा बनेको एउटा सानो पक्की घर र दुई कट्ठा जग्गा मात्र छ। आमा सिर्जना माझीले घरधन्दा सम्हाल्दै अर्काको खेतमा अधियाँ खेती र ज्याला–मजदुरी गरेर परिवारलाई साथ दिइरहेकी छन्। पवनदेव आफैं पनि पढाइसँगै आमालाई सघाउन कहिलेकाहीँ मजदुरीमा जाने गर्थे।
पवनदेवले २०७७ सालमा गोगलप्रसाद नमुना माविबाट एसइई र २०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनका हजुरबुबा र बुबाको पवनदेवलाई ‘हेल्थ असिस्टेन्ट’ (एचए) बनाउने थियो, किनकि गाउँमा एचएलाई नै ‘डाक्टर’ भनिन्थ्यो। तर उनको सपना त्योभन्दा ठुलो थियो– एमबिबिएस डाक्टर बन्ने।
आर्थिक अभावका कारण नामी कोचिङ सेन्टरमा पढ्ने अवस्था थिएन। उनले घरमै बसेर युट्युबको सहयोगमा स्वअध्ययन गरे। पहिलो पटकको परीक्षामा नाम निस्किएन तर उनले हिम्मत हारेनन्। २०८१ सालमा विभिन्न पाँच विधामा परीक्षा दिए र एमबिबीएसबाहेक सबैमा नाम निकाले। बिडिएस पढ्न काठमाडौं गए पनि उनको मनले मानेन। अन्ततः ऋण काढेर कोचिङ कक्षा लिए। २०८२ सालमा उनी मधेसी दलित आरक्षण कोटामा एमबिबिएस र बिडिएस दुवैमा पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल भए।
हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तरपूर्व पुगेपछि आउँछ श्रीपुर गाउँ। छाप्राहरूको लहर छिचोलेपछि ढल्नै लागेको सानो छाप्रो हो मधुरी साफीको । यही छाप्रोबाट २१ वर्षीय सत्यनारायण साफीले डाक्टर बन्ने सपना देखे।
साफी मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा उनी एमबिबिएसमा नाम निकाल्न सफल भए। अहिले उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत्त छन्। जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ सालमा एसइई परीक्षा उत्तीर्ण गरेका उनले अरनिको उच्च मावि विराटनगरबाट २०७९ सालमा विज्ञान विषय लिएर कक्षा ११–१२ उत्तीर्ण गरे । त्यसपछि एमबिबिएस प्रवेश परीक्षा तयारी कक्षाका लागि काठमाडौं पुगे।
काठमाडौंमा भाइब्रेन्ट कोचिङ सेन्टरमा उनले नाम पनि लेखाए तर तीन महिना नबित्दै उनी भाइब्रेन्ट मात्र होइन, काठमाडौं नै छाडेर घर फर्के। उनी घर फर्केपछि रोजगारमा कतार रहेका उनका बुवा मधुरी पनि बेरोजगार भएर घर फर्के। त्यसपछि जीवनयापन मुस्किल हुँदै गयो।
घर खर्च धान्न ‘मजदुरी रोज्ने कि पढाइ ?’ भन्ने परिस्थितिमा सत्यनारायण आइपुगे। उनले मजदुरी गर्दै पढाइ अघि बढाउने निर्णय लिए। गाउँघरमै मदजुरीको काम गर्न थाले। दिनभर मजदुरी गर्थे र रातभर पढाइ। मजदुरीबाट भएको कमाइबाट घर खर्च कटाएर बचेको रकमबाट एमबिबिएस प्रवेश परीक्षा तयारीका लागि किताब किन्थे। त्यसैबाट जोगाएको रकमबाट काठमाडौं पुगेर उनले एमबिबिएस प्रवेशिका परीक्षा दिए र नाम निकाल्न सफल भए।
उनको सफलताको पछाडि दृढ संकल्प, कडा मिहिनेत र धैर्य त छँदै छ तर उनको सपना देख्ने अवसर आरक्षणले जुराइदिएको हो।
कृषि मजदुरी गरेर सत्यनारायणका बुबाले तीन छोरी, दुई छोरा र आफू पतिपत्नीसहित सात सदस्यीय परिवारको जीविका चलाइरहेका छन्। एक्लो बुबाको मजदुरीले मुस्किलले परिवारको हातमुख जोडिन्छ। सम्पत्तिका नाममा साढे चार धुर ‘गाउँ ब्लक’को घडेरी र पाँच कट्ठा बन्जर बगरको जमिनबाहेक केही छैन उनीसँग। तर यति कठिन परिस्थितिका बाबजुद साफीको आत्मविश्वास डगमगाएको छैन।
परिवारको आर्थिक अवस्था कमजोर भए पनि सत्यनारायणको मनोबल भने उच्च छ। भन्छन्, ‘मेरो पढाइमा आजसम्म बुबाआमाले हाम्रो आर्थिक हैसियतभन्दा ठुलो लगानी गर्नु भएको छ। आरक्षणको व्यवस्थाले सीमान्तकृत सत्यनारायण र पवनको मात्र सपना साकार भएको होइन, उनीहरूजस्ता यस भेगका धेरै विपन्न जेहेनदारको सपना साकार पारिदिएको छ।’
झुपडीबाट मेडिकल शिक्षाको यात्रा आरम्भ गरेका सत्यनारायण र पवन आरक्षणको जगमा आफ्ना कडा मिहिनेत, दृढ इच्छाशक्ति, संघर्ष र धैर्यले आफूजस्ता झुपडीमा बस्ने युवाहरुका लागि अनुकरणीय र प्रेरणा बनेका छन्।
२०६३ सालअघि राज्यसत्तामा पहुँचका आधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए । यी समुदायमाथि संरचनागत विभेद व्याप्त थियो। यही विभेदलाई सम्बोधन गर्न बलिदानीपूर्ण मधेस विद्रोहको बलमा अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्याइयो। त्यसअनुरूप महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि भन्दै ६ वटा क्लस्टर छुट्याएर आरक्षण लागु गरिएको थियो।
आरक्षणका लागि निजामती ऐन २०६४ संशोधन गरिएको थियो तर पछि निजामती सेवामा खुलाइएका दरबन्दीमध्ये ४५ प्रतिशत सिट आरक्षणतर्फ छुट्याई त्यसलाई शतप्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेसी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांगता भएका व्यक्ति ५ प्रतिशत र पिछडिएका क्षेत्रका लागि ४ प्रतिशत भाग लगाइयो। आरक्षणको मुख्य अवधारणा ऐतिहासिक विभेदको क्षतिपूर्ति नै भएको जानकारहरू बताउँछन्।
आरक्षणको व्यवस्थाले सीमान्तका लागि अवसरको ढोका खोलिदिएको छ। जसका कारण महोत्तरीको जलेश्वर नगरपालिका–२ का महादेव पासवान, महोत्तरी गाउँपालिका–६ गोरिगमाका अभय र कृतिका पासवानजस्ता कैयन् सीमान्तकृत समुदायका अब्बल विद्यार्थीले डाक्टर बन्ने सपना पूरा गर्न सकिरहेका छन्।
उनीहरूलाई पछ्याउँदै थुप्रै सीमान्तकृत युवायुवती राज्यमा पहुँचका लागि हौसिएका छन्। सत्यनारायण, पवन, महादेव, अभय र कृतिका आरक्षणको उपयोगका लागि प्रतिस्पर्धामा खरो उत्रिन मिहिनेत पनि उत्तिकै गरेका हुन्।
मधेस विद्रोह २०६३–६४ को बलमा नेपालको संविधान २०७२ मा आरक्षण व्यवस्था राखिँदा गरिब दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर मिलेको हो। यो बलिदानीपूर्ण मधेस विद्रोहपछि भएको संवैधानिक व्यवस्थाको उज्यालो पक्ष हो।
‘मधेस आन्दोलन र यसको जगमा नेपालको संविधान २०७२ मा व्यवस्था भएको आरक्षण हामीजस्ता गरिब परिवारका लागि वरदान हो,’ सत्यनारायणले भने, ‘नेपालको संविधान २०७२ मा राखिएको आरक्षणको व्यवस्थाले हामीजस्ता सीमान्तकृत विपन्नले पनि डाक्टर बन्ने सपना देख्ने र पूरा गर्ने भएका छौं। यो व्यवस्थाले हामीजस्ता सम्भावना बोकेका थुप्रै दलित समुदायका युवाको सपना साकार बनाएको छ, बनाउनेछ।’
आरक्षणको संवैधानिक व्यवस्थाले समाजमा सकारात्मक परिणाम देखिन थालेको छ। यो पूर्ण होइन तर थोरै भए पनि दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर सुरक्षित भएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ २१:३७ सोमबार





