प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखाङ्कन तथा उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
मन्त्री श्रेष्ठका अनुसार साइटको अवस्थाबारे जानकारी संकलन तथा उद्धारका लागि सुरुदेखि नै निरन्तर खटिँदै आएका बिनु कुमार बरालसहितको टोली केही बेरअघि थप हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको उद्धार प्रयासलाई सम्भव भएसम्म सुरक्षित र प्रभावकारी ढंगले अघि बढाउन सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।
उद्धारका निम्ति नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक आनन्द ढुंगेलले आवश्यक समन्वय र सहकार्य गरि रहनु भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
महाविपत्तिको यस कठिन घडीमा उद्धार तथा पुनःस्थापनाका लागि निरन्तर खटिएका प्राविधिक, कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित सबैको प्रयासप्रति मन्त्री श्रेष्ठले सम्मान व्यक्त गरेका छन्।
साथै, सम्पर्कविहीन आफन्त तथा प्रियजनको प्रतीक्षामा रहेका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै उनले धैर्य धारण गर्ने शक्ति मिलोस् र सम्पर्कविहीन सबैको सकुशल उद्धार हुन सकोस् भन्ने कामनासमेत गरेका छन् ।
प्रकाशित: १३ भाद्र २०८३ १५:३४ शनिबार




-600x400.jpg)
