चितवन राष्ट्रिय निकुञ्जले बस्ती पसेको गैँडालाई स्थानान्तरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २३को घैलाघारी स्थित अन्नपुर्ण फार्म हाउसमा पसेको गैँडालाई डार्क गरेर आज (शुक्रबार) सौराहाको राष्ट्रिय संरक्षण प्राकृतिक कोषमा स्थानान्तरण गरेको हो ।
दिनहुँ बस्ती पसेर अन्नबालीमा क्षति पुर्याएपछि गैँडाको स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले जानकारी दिए ।
बस्तीमा आएर दिनहुँ मानिसहरुलाई त्रासमा पार्न थालेपछि स्थानीयले फाम हाउस भित्र थुनेर राखेका थिए । स्थानान्तरण नभएसम्म गैँडालाई थुनेर राख्ने भन्दै केरुङ्गा मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिको कार्यालय घेरेर दबाव दिएपछि गैँडाको स्थानान्तरण गरिएको भरतपुर वडा नम्बर २३ का वडाध्यक्ष दिपक दुवाडीले जानकारी दिए ।
‘यो गैँडा दिउँसो नियमित रुपमा आउँथ्यो । त्यसले जनतालाई पनि त्रास पैदा गरेको थियो,’ अध्यक्ष दवाडीले भने ‘अन्नवालीमा उत्तिकै क्षति पुर्याउने गरेको थियो ।’ मानव बस्तीमा वन्यजन्तु प्रवेशमा दीर्घकालिन रुपमा रोक लगाउनुपर्ने बताए । शुक्रबार मानव बस्तीमा गैँडा छिरेपछि नजिकैको स्कुल समेत बन्द गरिएको थियो ।
जगतपुर क्षेत्रमा नियमित गैँडा बस्ती छिर्दा अन्नबालीमा क्षति पुर्याउने गरेको टोल विकास समितिका अध्यक्ष सोम बहादुर आचार्यले जानकारी दिए । घैलाघारी क्षेत्रमा ५ सयभन्दा बढी किसानहरुको अन्नबाली क्षति गर्दै आएको उनले बताए ।
‘वन्यजन्तुले ठुलो मात्रामा अन्नबालीमा क्षति पुर्याएको छ,’ उनले भने ‘राहत थोरै पाइन्छ । यहाँका किसानहरु क्षतिपूर्ति समेत माग्न जाँदैनन् ।’ धान, तोरी, गहुँ लगायतका अन्नबाली खान गैँडा बस्ती छिर्ने गरेको उनले बताए ।
तार बार नलगाउँदा विगतमा स्थानीयलाई धेरै समस्या थियो । पछिल्ला वर्षमा यसपटक गैँडा बढी बस्ती छिर्ने गरेको उनले बताए ।
प्रकाशित: १२ मंसिर २०८२ १९:११ शुक्रबार





