४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे

आइतबार बिहान र राति परेको वर्षापछि अत्यधिक गर्मीका कारण प्रभावित बनेका नेपालगञ्जका नागरिकले केही राहत महसुस गरेका छन्। केही दिनयता लगातार बढेको तापक्रमका कारण जनजीवन प्रभावित भइरहेका बेला वर्षाले मौसममा सुधार ल्याएको हो।

नेपालगञ्ज क्षेत्रमा पछिल्ला दिनमा तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुगेको थियो। उच्च तापक्रमका कारण बजार क्षेत्र, सार्वजनिक स्थल तथा दैनिक कामकाजमा समेत असर परेको थियो। दिउँसोको समयमा सडकमा मानिसको चहलपहल कम देखिन्थ्यो भने घरभित्र समेत गर्मी सहन कठिन हुने अवस्था बनेको स्थानीयले बताएका थिए।

आइतबार बिहान परेको वर्षाले वातावरण केही चिसो बनाएको थियो भने रातिको वर्षाले थप राहत दिएको स्थानीयको भनाइ छ। वर्षापछि हावामा आएको शीतलताले गर्मीको अनुभूति कम गराएको छ।

नेपालगञ्जका स्थानीयवासीले केही दिनदेखि लगातार बढेको तापक्रमले दैनिक जीवन असहज बनेको बताए। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बाहिरी क्षेत्रमा काम गर्नेहरू बढी प्रभावित भएका थिए। वर्षापछि भने रातिको निद्रा सहज भएको र बिहान–बेलुका घरबाहिर निस्कन समेत सहज भएको नागरिकको अनुभव छ।

व्यापार व्यवसायमा पनि गर्मीका कारण केही असर देखिएको थियो। अत्यधिक गर्मी हुँदा बजारमा ग्राहकको चहलपहल घटेको व्यवसायीले बताएका छन्। वर्षापछि बजार क्षेत्र पनि केही चलायमान देखिन थालेको छ।

मौसम परिवर्तनसँगै वर्षाको क्रम निरन्तर रहे तापक्रम अझ घट्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि मौसमविद्हरूले गर्मी पूर्ण रूपमा अन्त्य नभएकाले आवश्यक सतर्कता अपनाउन, प्रशस्त पानी पिउन र अत्यधिक घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिएका छन्।

प्रकाशित: १५ असार २०८३ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App