गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन्। उनीहरूले परिचय पत्रसमेत लिएका छन्।
जिल्लामा भएका १४२ घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन्। दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताए।
उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रूपमा घाइतेहरू परिचयपत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन्। उनले भने, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ।”
जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरूले यसलाई लिखत रूपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ।
स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए। “स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचयपत्र दिन्छौं”, उनले भने।
घाइतेहरूको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनले बताए। घाइतेलाई राहतस्वरूप सरकारले २० हजार रूपैयाँ दिने निर्णय गरेको थियो।
प्रकाशित: १५ मंसिर २०८२ ११:३८ सोमबार





